एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक


काठमाडौं– पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को निर्णय पछि आज सो प्रतिवेदन सार्वजनिक गरिएको हो ।


एनसेल आजियाटाको शेयर स्वामित्व खरिद बिक्री भएको भनिएको सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना भए नभएको विषयमा आवश्यक छानविन गरी प्रतिवेदन दिन नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८०/८/२१ को निर्णय बमोजिम पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य र सहसचिव बाबुराम भण्डारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी ५ (पाँच) सदस्यीय अध्ययन तथा छानविन समिति गठन भएको थियो ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद बिक्री भएको भनेर १ डिसेम्बर २०२३ मा आजियाटा ग्रुप बर्हाडबाट प्रेस विज्ञप्ति जारी भएको थियो। सो सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा प्रक्रियाको पालना भए नभएको विषयमा आवश्यक छानविन गरी यसबाट नेपालमा आउने विदेशी लगानीको क्षेत्रमा पर्नसक्ने असर, प्रभाव तथा नेपालको दूरसञ्चार क्षेत्रको सेवा प्रवाहमा पर्नसक्ने असर, प्रभाव तथा यसबाट प्रचलित दूरसञ्चार ऐन तथा अन्य प्रचलित कानून अनुसार नेपाल सरकारलाई हुनसक्ने हानी नोक्सानी र सरकारी राजस्व शुल्क तथा दस्तुर लगायतको क्षेत्रमा पर्न सक्ने प्रभावका सम्बन्धमा समेत विस्तृत अध्ययन तथा छानविन गर्न आवश्यक देखिएको भन्दै सरकारले समिति गठन गरेको थियो ।