हायर पर्चेज कम्पनीले अब ‘कस्ट अफ फण्ड’ को आधारमा ब्याजदर लागू गर्नुपर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीले प्रत्येक दश आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भएपछि साउन मसान्तसम्म नवीकरण गरी सक्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (छैठौँ संशोधन, २०८३) गरेको हो ।

नवीकरणको लागि २ लाख राष्ट्र बैंकमा जम्मा गरेको सक्कल भौचर सहित म्यादभित्र अनुसूची ४ बमोजिमको ढाँचामा अनुसूची ५ बमोजिमको कागजात संलग्न गरी निवेदन दिनुपर्नेछ । केन्द्रीय बैंकले व्यवस्थामा संशोधन गर्दै ब्याजदर तथा शुल्क सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको हो । हायर पर्चेज कर्जा दिने कम्पनीले देहायका व्यवस्थाको अधीनमा रही आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर निर्धारण गर्नुपर्ने छ । कर्जाको ब्याजदर निर्धारण गर्दा कस्ट अफ फण्डलाई आधारको रुपमा लिनुपर्नेछ । कस्ट अफ फण्ड निर्धारण गर्न स्वपूँजीको लागत र ऋणबाट प्राप्त कोषको भारित लागतलाई आधारको रुपमा लिनुपर्नेछ । कम्पनीले ब्याजदरसम्बन्धी सूचना प्रकाशन गर्नुपर्नेछ । यसरी ब्याजदर निर्धारण गर्दा सो को जानकारी ३ दिनभित्र राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागलाई जानकारी गराउनुपर्नेछ ।

ग्राहकहरुलाई प्रवाह गरिने कर्जाको ब्याजदर निर्धारण गर्दा ब्याजदरमा २ प्रतिशतभन्दा बढी थपघट गर्न नपाइने उल्लेख छ । हायर पर्चेज कर्जामा विशेष परिस्थितिमा नियमनकारी निकायबाट निर्देशन जारी भएको अवस्थामा मात्र ऋणीले उचित कारणसहित लिखित अनुरोध गरेमा कम्पनीको सञ्चालक समितिबाट निर्णय गराई निश्चित अवधिको लागि कर्जा पुनर्तालिकीकरण गर्न सकिने जनाएको छ ।