काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मोबिलिटीमा सुरक्षा फिचर आवश्यक रहेको बताएका छन् । नेपाल अटोमोबाइल्स इन्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोशिएशन (नाइमा) ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय विभिन्न किसिमका विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको बताउँदै सुरक्षामा विशेष जोड दिन आवश्यक रहेको बताए । उनले सामाजिक मोबिलिटी, आध्यात्मिक मोबिलिटी महत्त्वपूर्ण रहेको बताए । उनले समयसँगै मोबिलिटी अझ व्यापक र गतिशील हुँदै गइरहेको बताउँदै व्यवसाय एक ठाउँबाट अर्को ठाउँमा विस्तार हुने रोजगारी र अवसर सिर्जना हुने, मानिसहरू व्यवसायसँग जोडिने भएकाले पनि यसमा विशेष ध्यान दिनुपर्ने बताए ।
पछिल्लो समय सडक दुर्घटनाको क्रम बढी रहेको बताउँदै उनले यसलाई कम गराउने गरी अब आउने सवारीसाधनमा सुरक्षा फिचरमा ध्यान दिनुपर्ने बताए । कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षित मापदण्डअनुसारका सवारीसाधनसँगै सडक इन्जिनियरिङमा पनि विशेष ध्यान दिनुपर्ने बताए ।
सडकमा गुड्ने सवारीसाधन जति सुरक्षित हुन्छन्, त्यति नै सवारीसाधन प्रयोग गर्ने नागरिकको सुरक्षा सुनिश्चित हुने उनले बताए। सवारीसाधनसम्बन्धी एक्स्पोले सवारी उद्योग, नियामक निकाय र सुरक्षा निकायबीच अन्तरसंवादको वातावरण सिर्जना गर्ने भन्दै उनले यस्ता संवादमा प्रहरीको सहभागिता अझ प्रभावकारी बनाउन आफूहरूले भूमिका निर्वाह गर्ने बताए।
महानिरीक्षक कार्कीले सवारीसाधन इन्जिनियरिङ तथा सडक इन्जिनियरिङसम्बन्धी शिक्षाको दायरा विस्तार गर्नुपर्नेमा पनि जोड दिए। उनका अनुसार आर्थिक वर्ष २०८२\८३ मा नेपालभर २९ हजार ९८८ वटा सवारी दुर्घटना भएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ३.२ प्रतिशतले बढी हो। औसतमा दैनिक ८२ वटा सवारी दुर्घटना हुने गरेको उनले जानकारी दिए। ‘दैनिक औसतमा १३० जना घाइते भइरहेका छन् भने सात जनाको मृत्यु भइरहेको छ,’ उनले भने, ‘दुर्घटनामा पर्ने सवारीसाधनमध्ये ५९ प्रतिशत मोटरसाइकल रहेका छन्।’
सवारी दुर्घटना भएपछि त्यसको सम्पूर्ण दोष चालकको लापरबाहीलाई मात्र दिने प्रवृत्ति रहेको भन्दै कार्कीले सडक इन्जिनियरिङका कमजोरी पनि दुर्घटनाका प्रमुख कारण बन्ने गरेको बताए। सडकको स्लोप नमिलेको, खाल्डाखुल्डी भएको, लेनको व्यवस्था नभएको जस्ता इन्जिनियरिङका कमजोरीका कारण पनि नागरिकले ज्यान गुमाइरहेको उनले बताए । त्यसैले चालकलाई मात्र दोष दिएर उम्किन नमिल्ने उबताए ।
उनले सडक तथा सवारी सुरक्षालाई समग्र दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याए। सवारीसाधन निर्माणदेखि सडकको डिजाइन, नियमन र प्रयोगसम्मका पक्षमा सुरक्षा मापदण्डलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। कार्कीले अटो व्यवसायीहरूलाई बिक्रीपछिको सेवा प्रभावकारी बनाउन आग्रह गरे। बजारमा विभिन्न ब्रान्डका सवारीसाधन भित्रिए पनि बिक्रीपछिको सेवा प्रभावकारी नभएको जनगुनासो बढिरहेको भन्दै उनले व्यवसायीहरूको ध्यानाकर्षण गराए।
काठमाडौं उपत्यकामा अव्यवस्थित पार्किङको समस्या पनि गम्भीर रहेको उनले बताए। पढेलेखेका र सभ्य भनिने नागरिकले नै जथाभावी पार्किङ गर्ने गरेका कारण काठमाडौंका सडक अस्तव्यस्त हुने गरेको भन्दै उनले सुरक्षा सुधारका लागि प्रहरी, नियामक निकाय, सवारी उद्योग, सडक इन्जिनियर तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको कार्कीले बताए।








About Us
प्रतिक्रिया