हाइब्रिड एसयूभी  बीजे–३० ई सार्वजनिक, मूल्य १ करोड १९ लाख ९६ हजार


काठमाडौं – चिनियाँ अटो निर्माता बेइजिङ अटोमोटिभ ग्रुप कम्पनी (बीएआईसी) आफ्नो लोकप्रिय हाइब्रिड एसयूभी बीजे–३० ई सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले नाइमा मोबिलिटी एक्स्पोमा बीजे ३० सार्वजनिक गरेको हो। 

बीजे–३० अफरोड डिजाइन र हाइब्रिड प्रविधिको संयोजन भएको एसयूभी हो। यसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग डुअल इलेक्ट्रिक मोटर जोडिएको छ, जसले ४०९ हर्सपावर र ६८५ न्युटन मिटर टर्क उत्पादन गर्छ। कम्पनीको म्याजिक कोर डीएचइभी हाइब्रिड प्रणाली प्रयोग गरिएको एसयूभी शहरी सडकदेखि अफरोड यात्रासम्मलाई लक्षित गरेर विकास गरिएको हो।

गाडीमा २१५ एमएम ग्राउन्ड क्लियरेन्स, विभिन्न ड्राइभिङ मोड, अफरोड क्षमता तथा मजबुत बडी स्ट्रक्चर उपलब्ध छ। इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर र १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, प्रिमियम केबिन तथा आधुनिक कनेक्टिभिटी फिचर समावेश गरिएको छ। बीएआईसी चीनका ठुला सरकारी अटोमोबाइल समूहहरूमध्ये एक हो। कम्पनीले एसयूभी, अफरोड गाडी तथा विद्युतीय सवारी उत्पादन गर्दै आएको छ।