नाइमा नेपाल मोबिलिटी एक्स्पोले सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउँछः अध्यक्ष सिंह वैद्य


काठमाडौं – नेपाल अटोमोबाइल्स इन्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोशिएशन (नाइमा) कि अध्यक्ष ऋतु सिंह वैद्यले नाइमा अटो शो सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउने प्लेटफर्म भएको बताएकी छिन्। आजदेखी काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। 

यो एक्स्पो केवल सवारीसाधन प्रदर्शन तथा बिक्री गर्ने ठाउँ मात्र होइन। यो सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउने प्लेटफर्म हो उनले भनिन्। आगामी छ दिनसम्म ५५ वटा ब्रान्ड तथा ४० वटा नयाँ सवारीसाधन र मोडेल लन्च हुनेछ। यसले अटो मोबाइल तथा मोबिलिटी क्षेत्र कति तीव्र गतिमा परिवर्तन र विस्तार भइरहेको छ भन्ने पनि स्पष्ट रूपमा देखाउने अध्यक्ष सिंहको भनाइ छ। 

दक्ष जनशक्ति, थप सुदृढ डिजिटल प्रणाली तथा सरकार र उद्योगबीच अझ राम्रो समन्वय आवश्यक छ। मोबिलिटी विस्तारसँगै सडक सुरक्षा हाम्रो जिम्मेवारीको केन्द्रमा रहनुपर्ने बताइन्। नाइमाले ट्राफिक प्रहरी तथा अन्य सरोकारवालासँग निरन्तर सहकार्य गर्दै मोबिलिटीलाई अझ सुरक्षित, भरपर्दो र सबैका लागि सहज बनाउन काम गरिरहने प्रतिबद्धता व्यक्त गरिन्।

नीति स्पष्ट र एकरूप भएमा व्यवसायले त्यसअनुसार आफूलाई सहज रूपमा अनुकूलन गर्न सक्ने तर, बारम्बार हुने नीतिगत परिवर्तन, फरक–फरक व्याख्या तथा विगतका निर्णयहरूलाई पछि गएर लागू गर्ने जस्ता विषयले व्यवसायमा अनिश्चितता सिर्जना गरेको उनको भनाइ छ। 

धेरै अटो मोबाइल कम्पनीहरूले दशकौँदेखि नेपाली बजारमा लगानी गर्दै आएका छन्। उनीहरूले रोजगारी सिर्जना, सेवा सञ्जाल विस्तार, प्राविधिक सीप विकास तथा नयाँ पूर्वाधार निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सरकारले कुनै पनि नयाँ नीति ल्याउन वा विद्यमान नीतिमा परिवर्तन गर्नुअघि सम्बन्धित सरोकारवालासँग पर्याप्त परामर्श गर्नुपर्ने बताइन्।