बीमा कम्पनीहरुले एक वर्षमा गरे १ खर्ब बढी दाबी भुक्तानी, ५२ अर्ब भुक्तानी गर्न बाँकी


काठमाडौं – गत आर्थिक वर्ष २०८२/८३ मा बीमा कम्पनीहरुले १ खर्ब बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक विवरणअनुसार गत वर्ष जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब बढी दाबी भुक्तानी गरेका हुन् । प्राधिकरणकाअनुसार बीमा कम्पनीले १ खर्ब १ अर्ब ३६ करोड १३ लाख बीमा दाबी भुक्तानी गरेका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बढी हो ।

अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीले ९१ अर्ब ६ करोड ८५ लाख दाबी भुक्तानी गरेका थिए । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीले ४ लाख १९ हजार १३६ वटा दाबीबापत ६९ अर्ब ६४ करोड २३ लाख भुक्तानी गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीले ३ लाख ९१ हजार ३५ वटा दाबीको ६५ अर्ब ८० करोड ८९ लाख भुक्तानी गरेका थिए । यस्तै, गत वर्ष निर्जीवन बीमा कम्पनीले १ लाख ६४ हजार १०१ वटा दाबीको ३१ अर्ब ७१ करोड ९० लाख भुक्तानी गरेका छन् । कम्पनीहरुले अघिल्लो वर्ष १ लाख ५० हजार ६३० वटा दाबीको २५ अर्ब २५ करोड ९६ लाख भुक्तानी गरेका थिए ।

बीमा कम्पनीले अझै ५२ अर्ब बढी गत आर्थिक वर्षमा परेको दाबी भुक्तानी गर्न बाँकी रहेको छ । बीमा कम्पनीले ५२ अर्ब ८ करोड १ लाख दाबी भुक्तानी गर्ने बाँकी प्राधिकरणले जनाएको हो । बीमा कम्पनीहरुले अझै २ लाख ५० हजार ३८१ दाबी भुक्तानी गर्ने बाँकी छ । जीवन बीमा कम्पनीहरुले १ लाख ४४ हजार १४४ वटा दाबीको ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने निर्जीवन बीमा कम्पनीहरुले १ लाख ६ हजार २३७ दाबी संख्या बापतको ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।