भुक्तानी सेवा प्रदायकको मुख्य चुनौती नै वित्तीय अपराध र डेटा सुरक्षा


काठमाडौं – नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पीएसपी) को मुख्य चुनौती नै वित्तीय अपराध रहेको बताएको छ । केन्द्रीय बैंकले डिजिटल भुक्तानी प्रणालीको विस्तारसँगै ठगीका तरिका पनि झन् जटिल र परिष्कृत बन्दै गएको बताएको छ ।

राष्ट्र बैंककाअनुसार अनधिकृत कारोबार, पहिचान चोरी, खाता नियन्त्रण, सामाजिक इन्जिनियरिङमार्फत गरिने ठगी लगायतका जोखिमहरू बढिरहेको छ । विशेषगरी कारोबारको मात्रा र प्रयोगकर्ताको विविधता बढ्दै जाँदा यस्ता गतिविधिहरूको पहिचान र रोकथाम गर्नु पीएसपीहरूका लागि ठूलो चुनौती बनेको राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टमा नै उल्लेख छ ।

राष्ट्र बैंकले पीएसपीहरूका लागि विभिन्न चुनौतीहरु औल्याएको छ । केन्द्रीय बैंकले ग्राहकलाई व्यक्तिगत आवश्यकताअनुसार सहज र प्रभावकारी सेवा प्रदान गर्नुका साथै उनीहरूको व्यक्तिगत तथा वित्तीय विवरणको सुरक्षा सुनिश्चित गर्नुपर्ने चुनौती रहेको बताएको छ । पर्याप्त डाटा सुरक्षा व्यवस्था नहुँदा डाटा चुहावट, कानुनी दायित्व, नियामकीय कारबाही तथा ग्राहकको विश्वासमा गम्भीर क्षति पुग्ने गरेको समेत रिपोर्टमा उल्लेख छ ।

राष्ट्र बैंककाअनुसार पीएसपीहरुको अर्को चुनौतीहरु एउटै प्रयोगकर्ता समूहलाई लक्षित गर्दै धेरै पीएसपी कम्पनीहरु सञ्चालनमा आउनु रहेको छ। यसले ग्राहकलाई आकर्षित गर्न र दीर्घकालसम्म कायम राख्न उत्पादन तथा सेवामा निरन्तर नवीनता, उपयुक्त मूल्य निर्धारण, उत्कृष्ट ग्राहक अनुभव तथा थप मूल्य अभिवृद्धि गर्ने सेवाहरू विकास गर्नुपर्ने आवश्यकता सिर्जना गरेको केन्द्रीय बैंकले जनाएको छ । साथै, प्रतिस्पर्धाबीच नाफामूलक अवस्था कायम राख्नु अहिलेको समयमा पीएसपीको चुनौती हो ।

यता, प्रणालीमा आउने समस्या, सफ्टवेयर त्रुटि वा नेटवर्क तथा कनेक्टिभिटीमा हुने अवरोधका कारण भुक्तानी सेवा प्रभावित हुन सक्छ । यसबाट कारोबार असफल हुने तथा ग्राहक असन्तुष्टि बढ्ने जोखिम रहन्छ । त्यसैले प्रणालीको उच्च विश्वसनीयता कायम राख्नु र समस्या उत्पन्न भएमा तत्काल समाधान गर्नु पनि पीएसपीका लागि चुनौती हो । भुक्तानी प्रणालीको स्थायित्व र विश्वसनीयतामा समेत जोखिम कम गर्नु पनि पीएसपीकाे अर्काे चुनाैती हाे । जसकारण पीएसपीहरुले समय मै यसमा ध्यान दिनु आवश्यक रहेकाे केन्द्रीय बैंकले जनाएकाे छ ।