काठमाडौं – ज्योति विकास बैंक र एनसीएचएलबीच ईएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सक्रिय गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे।
नसीएचएलको ईएफटी स्वीच नेसनल कार्ड स्वीचसँग इन्टिग्रेट भइसकेकाले उक्त सम्झौता पश्चात् बैंकले आफ्नो ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरु र ‘रुपय’कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबार प्रोसेस गर्न सकिनेछ।
एनसीएचएलले हालै नेपालपेको व्यवसायिक रोलआउट सुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ।
एनसीएचएलको ईएफटी सर्भिसेस मार्फत् हाल ११ वटा सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किम प्रोसेस गर्दै आइरहेका छन्। हालै ईएफटी र नेसनल पेमेन्ट स्वीच बीचको इन्टिग्रेसनसँगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सकिने भएको छ।
ईएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन्। हालसम्म नेपालपेमा ३६ बढी बैंक तथा वित्तीय संस्था आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन्। ८ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड इस्यू गर्न सुरु गरिसकेका छन् भने ११ बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्डको अक्वायरिङ सुरु गरिसकेका छन्।







About Us
प्रतिक्रिया