जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने


काठमाडौं – राष्ट्रिय भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने जनाएको छ।

समितिका अनुसार देशभरबाट सङ्कलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहमार्फत निःशुल्क रूपमा निस्सा वितरण भइरहेको छ। निस्सा प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहकै रहेको समितिले स्पष्ट पारेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको समितिले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला भूमि समस्या समाधान समितिमार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण प्रदान गरिएको जनाएको छ। साथै, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समितिका पदाधिकारीसँग छलफल तथा विभिन्न जिल्लामा स्थलगत अनुगमनसमेत गरिएको उल्लेख गरेको छ।

समितिका अनुसार पछिल्लो समय निवेदन दर्ता गराइदिने वा निस्सा उपलब्ध गराइदिने बहानामा केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको छ। यस्तो गतिविधि पूर्ण रूपमा गैरकानुनी भएकाले कुनै पनि व्यक्तिलाई रकम नदिन समितिले सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपरी आधिकारिक प्रक्रियामार्फत मात्र सेवा लिन आग्रह गरेको छ।