बीमा प्राधिकरणको नेतृत्व चयनमा शक्तिशाली सरकार अलमलमा


काठमाडौं – शक्तिशाली सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि दरखास्त खुलाएको दुई महिना बितिसक्दा पनि छनोट प्रक्रिया अघि बढाउन सकेको छैन। दरखास्त दिने अन्तिम मिति जेठ १९ गतेसम्म थियो। खासगरी बीमा क्षेत्रको विवादित पृष्ठभूमि र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को चित्त नबुझाउने स्वभावका कारण अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्राधिकरणको नियुक्तिमा हतार नगर्ने पक्षमा छन्।

त्यसो त प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र तत्कालीन बीमा समितिका अध्यक्ष फत्तबहादुर केसी सदस्य छन्। यद्यपि सिफारिस समितिको प्रस्ताव अर्थमन्त्रीमार्फत जाने भएकाले वाग्लेसँग परामर्श लिएर मात्रै अघि बढ्ने पक्षमा समिति देखिन्छ। यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिसमै प्रधानमन्त्रीले असन्तुष्टी जनाएपछि योग्य उम्मेवार सिफारिसमा समिति सचेत देखिएको अधिकारीहरू बताउँछन्। व्यक्तिगत विवरण (सीभी) बुझाउनेको संख्या ५१ जना पुगेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

नियमनकारी निकायको सर्वोच्च पद भएकाले यसमा राजनीतिक दलहरू र ठूला व्यावसायिक घरानाहरूको विशेष चासो रहने गर्छ। आफ्नो अनुकूलको मान्छे ल्याउन शीर्ष राजनीतिक तहमा सहमति जुट्न नसक्दा र शक्ति केन्द्रहरू बीचको शक्ति सन्तुलन नमिल्दा निर्णय प्रक्रिया पछाडि धकेलिएको विश्लेषण गरिएको छ। यस पदका लागि बीमा क्षेत्रका विज्ञ, पूर्व बैंकर, पूर्व प्रशासक तथा चार्टर्ड एकाउन्टेन्टहरू दौडमा छन्। उम्मेदवारहरू आ-आफ्नो पहुँच प्रयोग गरेर प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालय धाउने क्रम चलिरहेकाले सिफारिस समिति दबाबमा परेको बुझिन्छ।