बैंकिङ्ग कसुरका पाँच वटा मुद्दामा फरार रहेका अन्जन भट्ट पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको ज्वालामुखी– ३ का अन्जन भट्ट रहेका छन्। बैंकिङ्ग कसुर मुद्दामा चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौंकाे कागेश्वरीबाट पक्राउ गरिएको हो। 

उनको जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा बैंकिङ्ग कसुर मुद्दामा ५० लाख बिगो, जिल्ला प्रहरी परिसर ललितपुरमा बैंकिङ्ग कसुर मुद्दामा १५ लाख बिगो, जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा बैंकिङ्ग कसुर मुद्दामा १ लाख ४८ हजार बिगो,  प्रहरी वृत्त बालाजु काठमाडौंमा बैंकिङ्ग कसुर मुद्दामा २ लाख ५० हजार बिगो र प्रहरी वृत्त कालीमाटी काठमाडौंमा बैंकिङ्ग कसुर मुद्दामा १ लाख ८० हजार बिगो रहेको प्रहरीले जनाएको छ। 

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भरतपुर चितवन पठाइएको छ।