बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी व्यवस्था उल्लघंन गरेपछि राष्ट्र बैंकको कारबाहीमा कृषि र राष्ट्रिय वाणिज्य बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले सरकारी लगानीका कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले  बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी व्यवस्थालाई उल्लङ्घन गरेको भन्दै कारबाही गरेको हो । 

राष्ट्र बैंकले कृषि विकास बैंकको विशेष स्थलगत निरीक्षणको क्रममा उक्त बैंकले बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंक र कानून कार्यान्वयन गर्ने निकायले गरेको अनुरोधबमोजिम समयमै खाता रोक्का नगरी यस बैंकको निर्देशन उल्लंघन गरेकोले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ (प्रथम संशोधनसहित) मा भएका खाता रोक्कासम्बन्धी व्यवस्थाबमोजिम अनुरोध प्राप्त हुनासाथ खाता रोक्का÷फुकुवा गर्न कृषि विकास बैंक लिमिटेडलाई नेपाल राष्ट बैंक ऐन, २०८५ को दफा १०० को उपदफा १(क) बमोजिम सचेत गराएको हो । 

यस्तै, केन्द्रीय बैंकले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यस बैंकबाट जारी बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ को विनियम ५ को (१) मा उल्लेख भएको व्यवस्थाको उल्लंघन गरी यस बैंकको निर्देशन पालना नगरेकोले अब आइन्दा सो विनियमावलीमा भएको व्यवस्था अनुसार समयमै बैंक खाता रोक्का राख्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को १ (क) मा भएको व्यवस्थाबमोजिम सचेत गराएको हो ।