काठमाडौं – पुरानो तामाको सिक्का भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा दुई भारतीय नागरिक र एक नेपाली रहेका छन् । भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ ।
यस्तै, बाह्रदशी गाउँपालिका–७ रुपनचवारी क्षेत्रबाट भगवान्को आकृति भएका चार वटा सिक्कासहित सुनसरीको इटहरी–८ का ३५ वर्षीय साबिर मियाँलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्सारी र मियाले झापाको हल्दिबारी गाउँपालिका–१ गोलघाप बजार क्षेत्रमा पुरानो तामा जस्तो देखिने एकातर्फ हनुमान र अर्कोतर्फ राम–सीताको आकृति भएको सिक्का देखाई ठगी गर्ने गरेका थिए । भने मियाले भगवानको फोटो भएको सिक्का देखाउँदै, पैसा ठगी गर्दै हिँडिरहेको थिए । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
साथै, झापा प्रहरीले पुराना सिक्का, धार्मिक आकृति भएका सिक्का वा यस्तै अन्य वस्तुहरू देखाएर अस्वाभाविक लाभ वा उच्च मूल्य प्राप्त हुने भन्दै प्रलोभनमा पारी ठगी गर्ने घटना अन्य स्थानमा समेत हुन सक्ने भएकाले नागरिकलाई सचेत रहन आग्रह गरेको छ।प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्ति देखिएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल रुम १०० मा फोन गरी जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।







About Us
प्रतिक्रिया