नेप्सेको सीईओका लागि खुल्यो आवेदन, के–के चाहिन्छ योग्यता ? 


काठमाडौं – अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन माग गरेको छ ।  मन्त्रालयले सीईओ पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग गरेको हो । 

सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन माग गरेको हो । अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको व्यक्तिले सीईओका लागि आवेदन दिन सक्नेछन् । 

प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्नेछ ।  अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ३ को खण्ड (ग) बमोजिम तीस वर्ष उमेर पूरा भई पैँसट्ठी वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

अर्थ मन्त्रालयले गैर नेपाली नागरिक, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको व्यक्ति, प्रचलित कानुन बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको र कार्यकारी प्रमुखका हकमा सार्वजनिक निकायको कुनै ठेक्का पट्टा सम्झौता गरी काम गरिरहेको र मानसिक सन्तुलन ठिक नभएको व्यक्ति पूर्ण रूपमा अयोग्य हुने बताइएको छ ।