काठमाडौंमा लघुवित्त पीडितको ‘राजधानी मार्च’


काठमाडौं-देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त तथा वित्तीय शोषणपीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन्। काठमाडौंको बल्खुबाट सुरु भएको ‘राजधानी मार्च’ भद्रकालीमा आएर कोणसभामा परिणत भएको छ।

पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, ब्याज र जरिबाना मिनाहा गर्नुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंमा आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीको दबाब र आर्थिक भारका कारण हजारौं परिवार समस्यामा परेको दाबी गरेका छन्।

लघुवित्तका कर्मचारीहरूले आँफूहरूलाई दुस्ख दिएको उनीहरूको गुनासो छ । पीडितहरूले सरकारले पटक(पटक वार्ताको आश्वासन दिए पनि आफ्ना माग सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

मार्चको अर्को दृश्य भने झन् मार्मिक थियो। प्रदर्शनमा सहभागी धेरै महिलाहरू काखमा दूधे शिशु बोकेर सडकमा उत्रिएका थिए। कतिपय वृद्धवृद्धा तथा बिरामी अवस्थाका व्यक्तिहरू पनि आन्दोलनमा सहभागी देखिन्थे। आर्थिक समस्याले थलिएका परिवारका सदस्यहरू आफ्नो पीडा सुनाउन राजधानी आइपुगेका थिए।

लघुवित्त पीडितहरूको यो प्रदर्शन केवल आर्थिक मुद्दासँग मात्र जोडिएको छैन, यसले ग्रामीण तथा निम्न आय भएका परिवारहरूले भोगिरहेको वित्तीय संकट र त्यसबाट उत्पन्न सामाजिक समस्यालाई पनि उजागर गरेको छ। राजधानीको सडकमा देखिएको यो मार्चले राज्यलाई लघुवित्त क्षेत्रका समस्या र पीडितहरूको आवाज सुन्न बाध्य पार्ने अपेक्षा आन्दोलनकारीहरूले गरेका छन्।