असारमा मात्रै नेप्सेमा थपिए १० करोड कित्ता शेयर, सानीगाड हाइड्रोको सबैभन्दा धेरै


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर आपूर्तिको ठुलो हिस्सा थपिएको छ । एक महिनाको अवधि असारमा मात्रै विभिन्न १५ वटा कम्पनीका प्राथमिक निष्कासन (आईपीओ), हकप्रद र बोनस गरी झन्डै १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएका हुन् ।

नेप्सेको तथ्यांक अनुसार असार महिनाभर ६ वटा कम्पनीको आईपीओ, ६ वटा कम्पनीको बोनस शेयर र ३ वटा कम्पनीको हकप्रद शेयर गरी कुल १५ कम्पनीका शेयरहरू दोस्रो बजारमा थपिएका छन् ।

असार महिनामा सूचीकृत भएका कम्पनीमध्ये आईपीओतर्फ ६ वटा कम्पनीको मात्रै ७ करोड ३८ लाख कित्ताभन्दा बढी शेयर नेप्सेमा थपिएका छन् । यसरी आईपीओ सूचीकृत गराउने कम्पनीहरूमा सबैभन्दा धेरै हिस्सा सानीगाड हाइड्रोपावरको रहेको छ । सानीगाड हाइड्रोको मात्रै २ करोड ४५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

बोनस शेयरतर्फ ६ वटा कम्पनीको १ करोड ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । हकप्रद शेयरतर्फ भने ३ वटा कम्पनीको १ करोड १२ लाख कित्ता शेयर दोस्रो बजारमा थपिएको नेप्सेको तथ्यांकले देखाएको छ । एकै महिनामा ठुलो परिमाणमा आईपीओ, बोनस र हकप्रद शेयर सूचीकृत भएपछि दोस्रो बजारमा शेयरको आपूर्ति थप बढेको छ ।