उत्पीडनविरुद्ध आवाज उठाउने एसबीआई बैंकका कर्मचारीको त्रास : ‘उजुरी गर्दा प्रतिशोधपूर्ण कारबाही नहोस्’


काठमाडौं – नेपाल एसबीआई बैंक लिमिटेडको लैनचौरस्थित कमर्सियल शाखामा कार्यस्थलको वातावरण, कर्मचारी उत्पीडन र असन्तुलित कार्य बोझलाई लिएर विवाद बाहिर आएको छ। बैंकको कुल कर्जा लगानीको करिब २५ प्रतिशत हिस्सा ओगट्ने र अर्बौँको निक्षेप एवं ऋण व्यवस्थापन गर्ने यस शाखाका १५ जना वर्तमान तथा पूर्व कर्मचारीहरूले शाखा प्रबन्धकको व्यवहार र कार्यशैलीविरुद्ध बैंक कर्मचारी संघमा सामूहिक उजुरी दिएका हुन् ।

चैत १८ मा दर्ता गराइएको उक्त उजुरी पत्रमा शाखा प्रबन्धकका कारण कर्मचारीको मनोबल, कार्यक्षमता र ग्राहक सेवामा गम्भीर असर परेको उल्लेख छ । उजुरीकर्ताहरूले आफूहरू शाखा प्रबन्धकको व्यावसायिक दृष्टिकोण वा नीतिको विरोधी नरहेको तर उनको व्यवहार, अमानवीय कार्यशैली र त्यसले सिर्जना गरेको विषाक्त वातावरणका कारण सामूहिक रूपमा आवाज उठाउन बाध्य भएको प्रस्ट पारेका छन् ।

पीडित कर्मचारीहरूले आफ्नो मर्यादा, मानसिक स्वास्थ्य र बैंकको व्यावसायिक हित संरक्षणका लागि युनियन तथा सम्बन्धित निकायसमक्ष कमर्सियल शाखाको व्यवस्थापकीय कार्यशैलीमाथि निष्पक्ष छानबिन गर्न, मर्यादित र व्यावसायिक कार्य वातावरण सुनिश्चित गर्न तत्काल सुधारात्मक कदम चाल्न, कार्यस्थलको उत्पीडन रोक्न स्पष्ट निर्देशिका तयार गरी व्यवस्थापकीय गलत आचरणका लागि जवाफदेही बनाउन, कारोबारको आकार अनुसार जनशक्तिको पर्याप्तता र कार्य बोझको न्यायोचित वितरणको पुनरावलोकन गर्न तथा यो उजुरी दिने कुनै पनि कर्मचारीमाथि प्रतिशोधपूर्ण कारबाही नहुने ग्यारेन्टी गर्न सामूहिक अनुरोध गरेका छन् ।

कर्मचारी सेवा उपनियम अनुसार बैंकको आधिकारिक कार्य समय बिहान ९:३० देखि बेलुका ५:३० बजेसम्म तोकिएको छ। तर, शाखा प्रबन्धकले कर्मचारीहरूलाई निरन्तर रूपमा बेलुका ८ देखि १० बजे र कतिपय अवस्थामा राति ११ बजेभन्दा ढिलासम्म जबरजस्ती काममा खटाउने गरेको उजुरीमा उल्लेख छ । निजी सवारी साधन नहुने तल्ला तहका र महिला कर्मचारीहरूका लागि मध्यराति घर फर्कने कुनै वैकल्पिक यातायातको व्यवस्था समेत गरिएको छैन । कार्यालय समयभित्र फलदायी काम गर्नुको सट्टा निरन्तर आन्तरिक बैठकहरू राखेर नियमित काममा ढिलाइ गराउने र त्यसपछि जानीजानी  ‘लेट नाइट मिटिङ ’ (रातिको बैठक) तय गरी कर्मचारीहरूलाई अबेरसम्म रोक्ने गरिएको छ ।

यसका साथै कमर्सियल शाखा जस्तो संवेदनशील र ठुलो कारोबार हुने स्थानमा जनशक्तिको व्यवस्थापन अत्यन्त कमजोर रहेको तथ्यांकले देखाउँछ। हाल उक्त शाखामा ५ जना कर्जा अधिकृत (क्रेडिट अफिसर), २ जना कर्जा सहायक (क्रेडिट असिस्टेन्ट) र ४ जना सञ्चालन सहायक (अपरेशन असिस्टेन्ट) मात्र कार्यरत छन्। हालै मात्र अन्यत्रबाट करिब १० वटा नयाँ कर्जाका फाइलहरू (क्रेडिट फाइल तथा ग्रुप एक्सपोजर) यसै शाखामा सरुवा गरिएका थिए । पहिलेकै कर्जा फाइलहरूको चाप झेलिरहेका ५ जना कर्जा अधिकृतहरूमाझ ती फाइलहरू बाँडिए पनि शाखा प्रबन्धकले यो थप कार्य बोझलाई बुझ्न सकेका छैनन् । सोझै ग्राहकसँग जोडिने फ्रन्ट डेस्क का सहायक तहका कर्मचारीहरूले दिनभर झेल्ने उच्च कार्य बोझलाई प्रबन्धकले नियमित बैठकहरूमै सार्वजनिक रूपमा ‘यी त केही नगण्य काम हुन्’ भन्दै पटक-पटक अपमानित गरिएको उजुरीमा उल्लेख छ । 

‘कुल कर्जाको चौथो हिस्सा सम्हाल्ने यस शाखाको सम्पूर्ण सञ्चालन विभाग इन्चार्जसहित असिस्टेन्ट लेभलका कर्मचारीको भरमा छाडिनु र समग्र कर्जा सम्बन्धी काम जम्मा २ जना क्रेडिट असिस्टेन्टले हेर्नुपर्ने बाध्यताले ग्राहक सेवा, संस्थागत जोखिम र कानुनी नियम पालना (कम्प्लायन्स) माथि ठुलो प्रश्न चिह्न खडा गरेको छ’ उजुरी पत्रमा भनिएको छ,‘ससाना कुरामा कर्मचारीहरूलाई व्यक्तिगत तहमा ओर्लिएर अपमानित गर्ने र धम्क्याउने गरिएको छ भने दिनको आधाभन्दा बढी समय ग्राहकलाई सेवा दिनु वा कर्जाका फाइलहरू अघि बढाउनुको सट्टा शाखा प्रबन्धकलाई अद्यावधिक (अपडेट) गराउनमै खर्च हुने गरेको छ ।’

अत्यधिक बैठक र अनावश्यक रिपोर्टिङको मागका कारण कर्जा फाइल नवीकरण र ग्राहकका अत्यावश्यक कामहरू महिनौँसम्म रोकिने गरेका उल्लेख छ । निरन्तरको दबाब, सम्मानको अभाव र नेतृत्वको असहयोगका कारण कार्यस्थल मनोवैज्ञानिक रूपमा असुरक्षित बनेको र कर्मचारीहरूले आफूलाई अनावश्यक रूपमा हेपिएको र कार्य बोझले थिचिएको महसुस गरिरहेको कर्मचारीहरूको गुनासो छ। यस उजुरी पत्रमा कमर्सियल शाखाका सिनियर अधिकृत सुरुची शाही, रवि शर्मा, अधिकृत सिर्जना श्रेष्ठ, अरुण कुमार पौडेल, जुनियर अधिकृत बेडमाया सुवेदी, सिनियर असिस्टेन्ट विद्या कुँवर, असिस्टेन्टहरू शिव बस्नेत, भास्कर शाक्य, सीमा कुमारी खड्का, अमिषा शर्मा भुसाल, ट्रेनी ग्राहक सहायक सृजन घिमिरे र मेसेन्जर ललितबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् । 

साथै, सोही शाखाका पूर्व कर्मचारीहरू (हाल एसइएफसीमा कार्यरत) डेपुटी म्यानेजर अमित कोइराला र अफिसर विवेक दाहालले समेत आफूहरू सो शाखामा कार्यरत रहँदा यस्तै नियति भोगेको भन्दै उजुरीको समर्थनमा हस्ताक्षर गरेका छन् । सो उजुरीको बोधार्थ बागमती प्रदेश प्रमुख र बैंकको कमलादीस्थित कर्पोरेट कार्यालयको मानव संसाधन (एचआर) प्रमुखलाई समेत पठाइएको छ ।