काठमाडौं – सन् २००० मा कुपण्डोलको एउटा सानो कोठाबाट दुई वटा कम्प्युटर, एउटा टेलिफोन सेट र दुई जना संस्थापक सदस्यहरू राजेन्द्र शाक्य र सगुन बहादुर ताम्राकारबाट सुरु भएको थियो ‘आइएमएस सफ्टवेयर’। त्यसपछि सन् २००७ मा कम्पनीमा सन्तोष ताम्राकार र अमित लाल जोशी थपिए। २ जनाबाट सुरु भएको कम्पनीको यात्रा ७ वर्षपछि ४ पुग्यो। स्थापनायताकै कुरा गर्ने हो भने आइएमएस सफ्टवेयरले आफ्ना सेवाग्राहीलाई सेवा दिन थालेके २६ वर्ष पुगेको छ।
सुरुवाती दिनमा देशका कर्पोरेट हाउसहरूलाई प्राविधिक सेवा दिने उद्देश्य आइएमएसले राखेको थियो। तर यतिबेला यो नेपाली सफ्टवेयर कम्पनीले स्वदेशी तथा विदेशी बजारमा आफ्नो बलियो उपस्थिति जनाएको छ। सन् २००५ तिर इन्टरनेटको सीमित पहुँच ९डायल९अप कनेक्सन० र बजारमा कम्प्युटरको न्यून प्रयोगका कारण सफ्टवेयर व्यवसाय सञ्चालन गर्नु निकै चुनौतीपूर्ण थियो। त्यस समयमा एउटा क्लाइन्टसँग सम्झौता गर्न दुई देखि तीन महिनासम्म लाग्ने गरेकोमा हाल कम्पनीले प्रतिमहिना ६० देखि ७० वटा नयाँ क्लाइन्ट क्लोज गर्दै आइरहेको छ।
भाटभटेनीसँगको सहकार्य ‘टर्निङ पइन्ट’
नेपालमा पहिलो पटक फिंगरप्रिन्ट (औंठा छाप)हाजिरी प्रविधि भित्र्याएर बजारको तत्कालीन ‘टाइम कार्ड’ दुरुपयोगको समस्या समाधान गरेसँगै कम्पनीले व्यावसायिक गति लिएको थियो। सन् २००७ मा कर्मचारी संख्या बढेपछि कार्यालय स्थानान्तरण गरेको कम्पनीका लागि सन् २००८ मा प्रतिष्ठित रिटेल चेन ‘भाटभटेनी सुपरमार्केट’ सँगको व्यावसायिक साझेदारी सबैभन्दा ठुलो ‘ब्रेकथ्रु’ बनेको थियो। भाटभटेनीको बलियो पोर्टफोलियोकै कारण कम्पनीलाई बजारमा अन्य ग्राहक आकर्षित गर्न सहज भएको अन्तर्वार्तामा उल्लेख छ।
बहुराष्ट्रिय ब्राण्डमा विस्तार र ५१ वटा भर्टिकल
हाल आइएमएस सफ्टवेयरले बिलिङ, सेल्स फोर्स अटोमेसन, डिस्ट्रिब्युसन म्यानेजमेन्ट र ह्युमन रिसोर्स इन्फर्मेसन सिस्टम गरी कुल ५१ वटा भर्टिकलमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार बजारमा हाल ३ वटा सेगमेन्टमा सफ्टवेयर उपलब्ध छन्। त्यसमध्ये बजारमा कम्पनीको प्रिमियम सफ्टवेयर सबैभन्दा बढी बिक्री हुने गरेको छ। कम्पनीले नेपालमा डाबर नेपालका ३८० भन्दा बढी र गोर्खा ब्रुअरीका सबै डिस्ट्रिब्युटरहरूका साथै नेस्ले, पतञ्जली, हिमालयन जाभा, एचडीएल र विशाल ग्रुप जस्ता ठुला एफएमसीजी र रेस्टुरेन्ट ब्राण्डहरूलाई आफ्नो प्रविधिमा आबद्ध गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली प्रविधि
आइएमएस सफ्टवेयरले सन् २०१५ मा मलेसियाली बजारमा भ्याट प्रणाली लागू हुँदा त्यहाँका आउटलेटहरूमा सेवा दिएर अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो। सन् २०११ र २०१९ मा भारतमा पतञ्जलीसँग ठुलो सम्झौता गरेको कम्पनीले कोभिड–१९ महामारीको समयमा व्यवसायलाई थप विस्तार गर्ने अवसर पाएको थियो। हाल नेपालमा मात्र ११ हजारभन्दा बढी एक्टिभ कस्टमर रहेको यस कम्पनीको सफ्टवेयर अन्तर्राष्ट्रिय बजारमा भारतको पतञ्जलिका ४० हजार आउटलेट र मदर डेरीका १८ हजार आउटलेटहरूमा प्रयोग भइरहेको छ। हाल कम्पनीमा १५० भन्दा बढी कर्मचारी कार्यरत छन् भने कुल क्लाइन्ट संख्या २० हजारभन्दा बढी पुगेको छ।
साना व्यवसायीका लागि सफ्टवेयर निःशुल्क ल्याउने तयारी
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व र डिजिटल साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी वर्षदेखि साना तथा मझौला व्यवसायीका लागि पूर्ण रूपमा निःशुल्क सफ्टवेयर उपलब्ध गराउने तयारी गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार डिजिटल साक्षरता बढाउने र सबैजसो कम्पनीहरूलाई करको दायरामा ल्याउन सहज हुने गरी नीतिगत व्यवस्था गर्न निस्शूल्क सफ्टवेयर प्रदान गर्ने तयारी गरेको हो। खुद्रा, फलफूल तथा तरकारी व्यवसायीहरूलाई डिजिटल इकोसिस्टममा ल्याउन र डेटामा आधारित व्यवसाय सञ्चालन गर्न सिकाउन यो कदम चालिएको बताएका छन्। साना व्यवसायीलाई डिजिटल माध्यमबाट सबल बनाउँदै आगामी दिनमा प्रविधिको क्षेत्रमा देशलाई थप योगदान पुर्याउने कम्पनीको लक्ष्य रहेको छ।






About Us
प्रतिक्रिया