काठमाडौं – नेपालको जीवन बीमा क्षेत्रको प्रतिष्ठित कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक नगरी वीरगञ्जमा साढे ३३ करोड रुपैयाँभन्दा बढीको लगानीमा जग्गा किनेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ मा अवस्थित होटल मकालु प्रालिको स्वामित्वमा रहेको कुल ८७.५३ धुर जग्गा नेपाल लाइफले खरिद गरेको हो।
कम्पनीले यस जग्गाका लागि मात्रै ३२ करोड रुपैयाँ र सरकारी रजिष्ट्रेशन दस्तुर तथा नामसारी सेवा शुल्क बापत थप १ करोड ७७ लाख ५० हजार रुपैयाँ बुझाएको छ । कम्पनीले दिएको आधिकारिक जानकारी अनुसार होटल मकालुको नाममा रहेका कित्ता नम्बर २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ का जग्गाहरू खरिद गरिएका हुन्।
कुल ३३ करोड ७७ लाख ५० हजार रुपैयाँको यो खरिद प्रक्रिया साउनको सुरुवातमा सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ। अहिले समग्र देशको आर्थिक क्षेत्र तथा घरजग्गा (रियल स्टेट) बजारमा शिथिल छ।
नेपाल लाइफले यस बहुमूल्य जग्गालाई आफ्नो व्यावसायिक एवं प्रादेशिक कार्यालय प्रयोजनका लागि उपयोग गर्ने जनाएको छ। भाडाको घर वा साना संरचनाबाट सेवा प्रवाह गर्दा व्यवस्थापकीय खर्च बढ्ने भएकाले देशकै व्यस्त व्यापारिक सहर वीरगञ्जमा आफ्नै भव्य र आधुनिक कर्पोरेट भवन बनाउन खोजेको हो।






About Us
प्रतिक्रिया