युएईमा रहेका नेपालीको वित्तीय सारथी बन्दै ‘नेप्लिज सेवा’


‘वर्षौं विदेशी भूमिमा पसिना बगाएर कमाएको पैसा, बचत गर्न नसक्दा नेपाल फर्किँदासम्म किन सकिन्छ? यसको समाधान के हो? विदेशमा बसेर पनि नेपालमा बैंक खाता कसरी खोल्ने, आईपीओ भर्ने, एसआईपी गर्ने र आफ्नो भविष्य सुरक्षित गर्ने उपायहरू के-के छन्? यी र यस्तै महत्त्वपूर्ण विषयमा आधारित रहेर ‘नेप्लिज सेवा’का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर चापागाईँसँग गरिएकाे कुराकानीको सम्पादित अशः

तपाईँलाई युएईमा बस्दै गर्दा यो‘नेप्लिज सेवा’सुरुवात गर्ने सोच कसरी आयो? यसले के–कस्ता सेवा दिन्छ ?
धन्यवाद सर, हाम्रो यो भेन्चर (उद्यम) र मेरो यो प्रयासलाई अगाडि ल्याउनका लागि तपाईँले यो पहल गरिदिनुभयो। २२ वर्षको मेरो वैदेशिक रोजगारीको यात्रामा मैले धेरै कुरा देखेँ, धेरै कुरा जानेँ र धेरै कुरा सिकेँ। यो ‘नेप्लिज सेवा’ एउटा यस्तो प्लेटफर्म हो, जसको माध्यमबाट मैले सिकेका कुराहरू नेपाली वैदेशिक प्रवासी श्रमिकहरूलाई सिकाउने एउटा प्रयास गरिरहेको छु। अहिले पनि धेरै जना नेपाली दाजुभाइ तथा दिदीबहिनीमा वित्तीय साक्षरताको कमी छ। उहाँहरूलाई यसको ज्ञान छैन। त्यसैले मैले जानेको र सिकेको केही कुरा उहाँहरूलाई सिकाउने, सेवाहरू प्रदान गर्ने र वैदेशिक रोजगारीमा जाँदै गर्दा वा त्यहाँ गइसकेपछि एउटै काममा मात्र अल्झिएर बस्न नपरोस् भन्नका लागि गरिएको एउटा प्रयास हो यो।

तपाईँहरूको सुरुवात सराहनीय छ। यी सेवाहरू कसरी लिन सकिन्छ ? तपाईँहरूले कसरी सेवा प्रदान गर्दै आउनु भएको छ ?
हामीले सेवा प्रवाह दिन सुरु गरेको करिब दुई महिना भयो। यी दुई महिनामा हाम्रो मुख्य ध्यान वैदेशिक रोजगारमा आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कम्तीमा नेपालको बैंकिङ्ग सुविधा उपलब्ध गराउने, उहाँहरूलाई नेपालको बैंकसँग जोडेर आवश्यक मार्गदर्शन दिने र बैंकिङ्ग कार्य सहज बनाइदिने काममा लागेका छौँ। किनभने, धेरै जना नेपालीहरू जो आईपीओ आवेदन दिन चाहनुहुन्छ वा एसआईपी गर्न चाहनुहुन्छ, उहाँहरू यो सेवाबाट वञ्चित हुनुहुन्छ। उहाँहरूसँग त्यो सुविधा लिनका लागि आवश्यक पूर्वाधार र पहुँच नै छैन। त्यसका लागि हामी उहाँहरूलाई मार्गदर्शन दिन्छौँ। आवश्यक कागजात तयार पार्न सहयोग गर्छौँ र फारामहरू भर्न सिकाएर बैंक खाता खोल्ने प्रक्रियालाई सहज बनाउन मद्दत गर्छौँ।

बैंकिङ्ग सेवा लिनका लागि मार्गदर्शन दिने भन्नुभयो। उहाँहरू तपाईंहरूसँग कसरी जोडिनुहुन्छ त ?
उहाँहरू हामीसँग सामाजिक सञ्जालमार्फत जोडिनुहुन्छ। हाम्रो नेपालमा पाँच जनाको टिम छ। उहाँहरूले सबै कुरा अनलाइन माध्यमबाटै उपलब्ध गराउनुहुन्छ। आवश्यक परेको ठाउँमा म आफैँ पनि संलग्न हुन्छु र ग्राहकहरूको जिज्ञासा हेरिरहेको हुन्छु। उहाँहरूलाई के आवश्यक परिरहेको छ। त्यो कुरा बुझेर मैले सकेको ठाउँमा सम्बन्धित निकायसँग जोडेर सहजीकरण गर्ने गरेका छौँ।

सेवाग्राहीहरूको प्रतिक्रिया कस्तो पाउनुभएको छ?
सेवाग्राहीहरूको प्रतिक्रिया एकदमै राम्रो छ। किनभने हामीले यो सुविधा उपलब्ध गराउँदा उहाँहरू खुसी हुनुहुन्छ। तर,अपेक्षित सेवा दिन खोजिरहँदा पनि नेपालका बैंकहरूको ढिलासुस्तीका कारण हामी कतिपय ठाउँमा अड्किरहेका छौँ।

तपाईंँले नेपालका बैंकहरूसँग सहकार्य गर्नका लागि प्रयास गर्नुभएन ? ‘हामी मार्गदर्शन दिन्छौँ, यस्तो खालको समस्या छ’ भन्दा उहाँहरूको प्रतिक्रिया कस्तो छ ?
कुनै–कुनै एक दुई वटा बैंकहरू सकारात्मक छन्। र, सहकार्य गरेर अगाडि बढ्न तयार छन्। यसो भन्दै गर्दा अझै पनि यो प्रक्रिया पूर्ण रूपमा व्यवस्थित हुन सकेको छैन। नेपालका बैंकहरूले यो क्षेत्रलाई अझै पनि प्राथमिकता दिएको पाएको छैन। यदि यसलाई राम्रोसँग सम्बोधन गर्ने र सेवालाई प्रभावकारी बनाउने हो भने धेरै जना नेपालीहरू इच्छुक हुनुहुन्छ, उहाँहरूले सिक्न पाउनु हुनेछ। धेरै जना नेपालको दोस्रो बजारको बारेमा बुझ्न चाहनुहुन्छ, आईपीओ र एसआईपीमा लगानी गर्न चाहनुहुन्छ। साथै बीमा लिन चाहनुहुन्छ। तर, त्यसका लागि आधारभूत आवश्यकता भनेको बैंक खाता हो। जुन प्रक्रिया अलिकति सहज भइदिए अरू सबै कुरा व्यवस्थित हुन्थे।

बैंक खाता खोल्नमा चाहिँ के चुनौती देख्नुभएको छ त तपाईँले? के समस्या भइरहेको छ?
हामीले दुई महिनामा करिब २५०० जति इच्छुक ग्राहकहरूको लगत (डेटाबेस) प्राप्त गर्यौँ।उहाँहरूलाई सहयोग गर्ने क्रममा हामीले भोगेको सबैभन्दा ठुलो चुनौती भनेको भिडियो केवाईसीमा गएर अड्किनु हो। हामी सबै प्रक्रियाहरू पूरा गर्न उहाँहरूलाई गाइड गर्छौँ, फाराम बुझाइन्छ र उहाँहरू केवाईसी प्रमाणीकरण ९भेरिफिकेसन० का लागि तयार पनि हुनुहुन्छ। तर, त्यतिबेला नेपालका बैंकहरूबाट उचित र छिटो कदम नचालिएका कारण धेरै जना ग्राहकहरूले यसमा आफ्नो रुचि नै गुमाउनुहुन्छ। अहिले मुख्य चुनौती यही भइरहेको छ। मसँग डेटाबेस छ, यो सेवाका लागि इच्छुक सबै दाजुभाइ दिदीबहिनीहरूको विवरण हामीसँग छ र हामी उहाँहरूलाई सहजीकरण गर्न खोजिरहेका छौँ। हामी यो सेवा पूर्ण रूपमा निःशुल्क पनि गर्दैनौँ, समन्वय गरेबापत निश्चित सेवा शुल्क लिन्छौँ र उहाँहरू त्यो तिर्न पनि तयार हुनुहुन्छ। तैपनि भने जस्तो सेवा नपाउँदा फ्रस्ट्रेसन (निराशा) त जो–कोहीलाई पनि हुनसक्छ।

नेपालका बैंकहरूलाई तपाईँको सुझाव के त? कसरी सहकार्य गरेर यसलाई अझ बढी प्रभावकारी बनाउनेरु जस्तै यहाँले दुई महिनामा २५ सय भन्नुभयो, त्यो आफैँमा ठुलो संख्या हो। नेपालको बैंकिङ्ग सेवा प्रयोग गर्न चाहने, खाता खोल्न चाहने, एसआईपी गर्न चाहने मानिसहरूको संख्या दुई महिनामै २५ सय थुप्रिनु ठुलो कुरा हो। अब नेप्लिज सेवा र नेपालको बैंकिङ्ग क्षेत्र कसरी सहकार्य गर्न सक्छन् त?
यसमा हामीलाई बैंकहरूबाट चाहिएको भनेको उचित र छिटो सेवा मात्र हो। किनभने उहाँहरूले ग्राहकलाई जति राम्रो सेवा दिनुहुन्छ। ग्राहक त्यति नै खुसी हुन्छन्। बैंकलाई पनि फाइदा हुन्छ र उहाँहरूलाई बैंकसँग जोडिदिने मध्यस्थकर्ताका रूपमा हामी पनि खुसी हुन्छौँ।

भनेपछि,तपाईंहरू नेपालका बैंकहरूसँग सहकार्य गरेर अगाडि बढ्न खोजिरहनुभएको छ?
अवश्य पनि, किनभने एक प्रवासी श्रमिकका रूपमा २२ वर्ष बिताउँदा मैले यहाँ धेरै कुरा देखेको छु। कस्ता चुनौतीहरू छन् र के के अवसरहरू छन्, ती सबै कुरा मलाई थाहा छ। यदि कुनै पनि बैंकले यसलाई उपयोग गरेर फाइदा लिन चाहन्छ भने, म उहाँहरूलाई उचित मार्गदर्शन दिन सक्छु भन्ने कुरामा म विश्वस्त छु।

अनि यो सेवा युएईमा बस्ने नेपालीहरूको लागि मात्रै हो कि मध्यपूर्वमा बस्ने नेपालीहरूलाई लक्षित गर्नुभएको हो?
नेप्लिज सेवाले युरोपियन मुलुक, अमेरिका वा खाडी मुलुकलगायत संसारभर रहेका सम्पूर्ण नेपाली श्रमिकहरूलाई आफ्नो लक्षित वर्गका रूपमा रोजेको छ। हामी सबैलाई सेवा प्रदान गर्छौँ। हाम्रो सेवा लिनका लागि रोमानिया, जापान, कोरिया, साउदी अरब, मलेसिया लगायत सबैतिरका साथीहरू जोडिनुभएको। बैंकिङ्ग सेवाबाहेक हामी श्रम नवीकरण, राहदानी नवीकरण, सम्पूर्ण कागजात प्रमाणिकरण, प्रहरी प्रतिवेदन र भीएफएसजस्ता कार्यमा पनि क्लाइन्टहरूलाई पूर्ण समाधान प्रदान गर्छौँ।

भनेपछि बैंकिङ्ग सेवा मात्र नभएर, नेप्लिज सेवाले विदेशमा रहनुहुने नेपालीहरूलाई आवश्यक पर्ने अन्य विभिन्न प्रशासनिक सेवाहरू पनि प्रदान गर्दोरहेछ ?
बिल्कुल। र,अर्को कुरा म के स्पष्ट पार्न चाहन्छु भने, मेरो मुख्य उद्देश्य यो सेवा मात्र प्रदान गर्नु होइन। जो व्यक्ति नेपालबाट वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ, उहाँलाई जाने बेलामै शिक्षित र दक्ष बनाएर पठाउन सक्ने क्षमता विकास गर्नु मेरो वास्तविक लक्ष्य हो र म अहिले त्यसैका लागि काम गरिरहेको छु।

कस्ता सीपहरू सिकाउने योजना बनाउनुभएको छ त तपाईंले?
सामान्यतया वैदेशिक रोजगारीमा आउने धेरैजसो व्यक्तिहरू कुनै ठोस योजनाविना आउनुहुन्छ। पहिलो कुरा त उहाँहरूलाई आफ्नो करिअर प्लानिङ गर्न सिकाउनु प¥यो । त्यसपछि विदेशमा प्रयोग हुने आधारभूत अंग्रेजी सिकाउनु पर्यो। धेरै जना प्राविधिक रूपमा एकदमै राम्रो काम गर्न सक्नुहुन्छ, तर सञ्चार क्षमताको कमीले गर्दा पछाडि परिरहनुभएको छ। उहाँहरूको क्षमतालाई लेभल अप गर्ने, सीप तिखार्ने र वैदेशिक रोजगारमा जाँदा कस्ता चुनौती तथा अवसरहरू आउँछन्, तिनलाई कसरी सदुपयोग गर्ने भन्ने सिकाउनु आवश्यक छ। आफूलाई सधैँ एउटै काममा सीमित नराखी कसरी फरक फरक भूमिकामा अगाडि बढाउने भन्ने खालको तालिम दिने मेरो योजना छ।

मलाई लाग्छ, एउटै ठाउँमा काम गरिरहेर अर्को राम्रो काम वा अवसर खोज्नु पनि एउटा सीप नै हो। त्यस्ता कुराहरू पनि नेप्लिज सेवा मा सिकाउनुहुन्छ?
हो, हाम्रो मुख्य ध्यान यसैमा रहन्छ। अहिले हामी प्रारम्भिक कार्यमा छौँ र आफ्नो संरचना तयार गर्दै छौँ। काठमाडौँमा हाम्रो तालिम केन्द्र र पूर्वाधारहरू बन्दै छन्। यदि कोही मान्छे पूर्ण तयारीका साथ विदेश जान्छ भने ऊ समस्यामा पर्ने सम्भावना एकदमै कम हुन्छ। त्यसैले बाहिर जाने नेपालीहरूलाई सुरुमै सीपयुक्त बनाएर पठाउन सकियो भने उनीहरूले त्यहाँ गएर अवसर बुझ्न र प्रगति गर्न सक्छन्। हाम्रो योजना नै यही हो।

अब जान लाग्नेहरूका लागि त सोच्नुभयो, तर जो विदेशमा आइसक्नुभएको छ। ‘मलाई यो जागिर ठिक भएन, म यसलाई परिवर्तन गर्छु वा अर्को अवसर खोज्छु’ भन्नेहरूका लागि केही योजना छ?
उहाँहरूका लागि मेरो अनुभवका आधारमा हामी काउन्सिलिङ (परामर्श) प्रदान गर्न सक्छौँ। उहाँहरूले अलरेडी कमाउन थालिसक्नुभएको हुनाले अब पैसाको व्यवस्थापन कसरी गर्ने भन्ने सिकाउँछौँ। कमाएको पैसा घर पठाउँदैमा मात्र त भविष्य सुरक्षित हुँदैन १० वर्षपछि नेपाल फर्किँदा त्यो पैसा जिरो भइरहेको हुन्छ। त्यस्तो नहोस् भन्नका लागि कमाएको पैसा कसरी बचत गर्ने र त्यो बचतलाई कसरी लगानी गरेर बढाउनेभन्ने शिक्षा हामी विदेशमा रहेकाहरूलाई दिन्छौँ।

तपाईंले यो सेवा अहिलेदेखि नै सुरु गरिसक्नुभएको हो? यसमा इच्छुकहरूको सङ्ख्या कस्तो छ?
एकदमै धेरै नेपालीहरू यसमा इच्छुक हुनुहुन्छ। म आफैँ पनि २२ वर्षअगाडि युएई आउँदा कुनै ठुलो योजनाविना नै आएको थिएँ, तर ममा एउटा दृढ संकल्प चाहिँ थियो। त्यहाँ गएर काम गर्ने र पैसा कमाउने। तर कतिन्जेल काम गर्ने, के गर्ने र त्यो पैसालाई कसरी सही ठाउँमा उपयोग गरेर बढाउने भन्ने योजना थिएन। त्यस्तै अवस्था अरूको नहोस् भनेर हामीले यो सेवा ल्याएका हौँ। यसबाट उहाँहरूले नेपालमा के के अवसर छन्, आफ्नो पैसा कसरी जोगाउने र कसरी बढाउने भन्ने सुविधा पाउनुहुन्छ। कसैले ‘म युएईमै छु र मलाई यहीँकै लागि गाइडेन्स चाहिन्छ’ भन्नुभयो भने हामी त्यो पनि उपलब्ध गराउँछौँ।

तपाईं २२ वर्षअगाडि युएई आउँदै गर्दा नेपालमा वित्तीय लगानीका उपकरणहरू कम थिए होलान्, तर अहिले धेरै विकल्पहरू छन्। यसलाई नेप्लिज सेवा र ‘प्रवासी श्रमिक’ सँग कसरी जोड्न सकिन्छ ?
यसका लागि नेप्लिज सेवाले एउटा क्याटलिस्टको रूपमा काम गर्छ। हाम्रो नेपाली समुदाय जसलाई यसबारे ज्ञान छैन, उहाँहरूलाई हामी नियमित भिडियोहरू र विभिन्न सेसनहरू मार्फत सचेत गराउँछौँ। शिक्षित भएपछि उहाँहरूले अवसर बुझ्नुहुन्छ र नेपालमा मैले के गर्न सक्छु भन्ने कुरा थाहा पाउनुहुन्छ। उदाहरणका लागि, हामीले एसआईपी वा सामाजिक सुरक्षा कोषको बारेमा भिडियो बनाउँदा उहाँहरू आकर्षित हुनुहुन्छ। यसरी लगानीको भोक जागेको बेलामा नेपालका बैंकहरूले यो सेवालाई सही ढङ्गले व्यवस्थापन गर्न सके भने यो इकोसिस्टममा ठुलो अवसर सिर्जना हुन्छ।

विदेशमा रहेका लाखौँ नेपालीहरूले कमाएको पैसा नेपाल पठाउँछन्, तर घर फर्किने बेलासम्म त्यो सकिइसकेको हुन्छ भन्ने गुनासो धेरै छ। उहाँहरूको सही वित्तीय योजनामा नेप्लिज सेवाले कसरी गाइड गर्छ?

यसका लागि पहिला हामी उहाँहरूको वर्तमान अवस्था र पैसा व्यवस्थापनको तरिका बुझ्छौँ। त्यसपछि योजना र मार्गदर्शन दिन्छौँ। धेरैजसो नेपालीहरूमा अझै पनि बचत गर्ने बानी बसेको छैन, हामी त्यसको महत्त्व बुझाउँछौँ। पैसा बचत गरेर बैंक खातामा मात्र राख्दा त्यो बढ्दैन, मुद्रास्फीतिका कारण हरेक वर्ष त्यसको मूल्य घट्दै जान्छ। त्यसैले त्यसलाई विभिन्न क्षेत्रमा लगानी गर्नुपर्छ। लगानी भन्दैमा हामी सिधै दोस्रो बजारमा जानुस् भन्दैनौँ। सुरुमा बचतको बानी बसाल्न एउटा सानो एसआईपीबाट सुरुवात गराउँछौँ। जब खातामा बिस्तारै पैसा जम्मा भएको देखिन्छ, तब अझै धेरै बुझ्ने र लगानी गर्ने मोटिभेसन आफैँ बढ्छ। हाम्रो काम वित्तीय चेतना र लगानीको भोक जगाएर अवसर देखाइदिने हो। जबसम्म व्यक्ति आफैँ तयार हुँदैन, तबसम्म अरूले जति नै राम्रो कुरा बताए पनि केही गर्न सकिँदैन।

यो त भयो बचत र लगानीको विषय, ५, ७ वा १० वर्ष विदेशमा काम गरेर सीपयुक्त भएको मान्छेलाई उद्यमीमा कसरी बदल्न सकिन्छ?
यहाँले एकदमै राम्रो प्रश्न गर्नुभयो। जब कोही व्यक्ति यो जर्नी ९यात्रा०मा अगाडि बढ्छ, पैसाको महत्त्व बुझ्छ र आफ्नो क्षमता विकास गर्दै जान्छ, तब उद्यमशीलताको भावना आफैँभित्रबाट आउँछ। जब मान्छेको दिमागले सही दिशामा काम गर्न थाल्छ र आफ्नो यात्रालाई सही मार्गमा लैजान्छ, तब उद्यमशीलता स्वतः प्रस्फुटित हुन्छ। यो मैले आफैँले अनुभव गरेको र धेरै साथीभाइहरूमा देखेको कुरा हो। जब तपाईँ अनुशासित भएर बचत गर्ने बानी बसाल्नुहुन्छ र जम्मा भएको रकमलाई लगानी गरेर बढाउनुहुन्छ, तब तपाईँको मनमा ‘अब यसपछि के तरु’ भन्ने प्रश्न आउँछ र अन्ततः उद्यमशीलता नै त्यसको सही गन्तव्य बन्न पुग्छ।

विदेशमा रहेका नेपालीहरूले पठाउने रेमिट्यान्स महिनामा डेढ खर्बभन्दा माथि पुगिसकेको छ। यसको अर्थ नेपालमा पनि सम्भावना नै सम्भावना छ। ती नेपालीहरूलाई उद्यमशीलतासँग जोड्नका लागि के–के गर्नुपर्छ ?
सबैभन्दा पहिले वित्तीय शिक्षा दिनु आवश्यक छ। श्रमिकहरूले पैसा त कमाउनुहुन्छ, तर त्यसको सही उपयोग गर्ने ज्ञान भएन भने त्यो पैसा त्यसै सकिन्छ। नेपालको बैंकिङ्ग क्षेत्र र नियामक निकायहरूले यसमा विशेष ध्यान दिनुपर्छ। निरन्तर पैसा पठाइरहेका श्रमिकहरूका लागि बैंकहरूले यस्ता आकर्षक र सुरक्षित योजनाहरू ल्याउनुपर्छ, जहाँ उनीहरूले थोरै–थोरै लगानी गरेर देशको आर्थिक प्रणालीको हिस्सा बन्न सकुन्। जस्तै, अहिले सामाजिक सुरक्षा कोष वैदेशिक रोजगारमा रहेका नेपालीहरू माझ एकदमै लोकप्रिय भएको छ, किनभने यसले बीमा र पेन्सन जस्ता सुविधाहरू सुनिश्चित गरेको छ। सुरक्षित भविष्य देखेपछि मानिसहरूमा आकर्षण बढेको छ। बैंकहरूलाई थाहा हुन्छ कसको खातामा कति पैसा आइरहेको छ र कसरी बाहिरिइरहेको छ। त्यसैले त्यो पैसालाई बैंकमै राखेर परिचालन गर्न र बढाउनका लागि उचित प्रोडक्ट तथा सेवाहरू ल्याउन आवश्यक छ।

नेपालमा रहेका प्राइभेट भेन्चर इक्विटी वा क्यापिटलहरूले एउटा इन्भेस्टमेन्ट फन्ड (लगानी कोष) खडा गरेर त्यसमा प्रवासी नेपालीहरूको लगानी भित्र्याउने सम्भावना कस्तो देख्नुहुन्छ?
हो, यो सम्भावना पनि छ। तर, विगतमा भएका केही स्क्यामका कारण नेपाली समुदाय अलिकति डराएको अवस्था छ। त्यसैले पहिले वित्तीय साक्षरता नै आवश्यक छ। सुरुमै उचित शिक्षाविना कुनै प्रोडक्ट ल्याएर लगानी गर्नुस् भन्दा कसैले पनि विश्वास गर्दैन, किनभने सबैलाई आफ्नो दुःखको कमाइ डुब्ने डर हुन्छ। त्यसैले हरेक बैंकहरूले आफ्ना सामाजिक सञ्जाल र डिजिटल च्यानलहरू मार्फत शेयर बजार र नेपालका लगानीका अवसरहरूबारे चेतनामूलक सामग्रीहरू प्रस्तुत गर्नुपर्छ वा विभिन्न देशहरूमा पुगेर ’रोड शो’ गर्नुपर्छ। यसले बैंकहरूको विश्वसनीयता बढ्छ र मानिसहरूले प्रत्यक्ष देखेपछि ढुक्कसँग विश्वास गर्न सक्छन्।

अनि भोलि बैंकले ल्याएका प्रोडक्ट, सर्भिसेज वा स्किमहरूमा उनीहरूले ढुक्क भएर लगानी गर्न सक्ने भए भन्ने तपाईँको भनाइ हो। ल, अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। नेप्लिज सेवाले दिने अन्य सेवाहरू र दर्शकहरू तपाईँहरूसँग कसरी जोडिन सक्छन्?
नेप्लिज सेवा तपाईँहरू सबैको लागि एउटा वान स्टप सर्भिस प्रोभाइडर बन्न चाहन्छ। विदेश आउँदा वा बस्दा धेरै नेपालीहरू विभिन्न ठगीमा परेर समस्यामा परिरहनुभएको हुन्छ, त्यसबाट जोगाउनु पनि हाम्रो उद्देश्य हो। तपाईँहरूलाई कुनै पनि कुरामा दुबिधा वा स्पष्टीकरण चाहिएको छ भने हामीकहाँ आउनुहोस्, हामी निःशुल्क परामर्श दिन्छौँ। जस्तै, तपाईँले कुनै वैदेशिक रोजगारीको अफर पाउनुभयो तर त्यो वास्तविक हो कि होइन भन्ने कुरामा शङ्का लागेमा हाम्रो टिमले त्यसको प्रमाणीकरण गरिदिन्छ। हामी त्यसका लागि सदैव तयार छौँ।

विना कुनै शुल्क तपाईँहरूले परामर्श दिनुहुन्छ। भनेपछि यो नेपालबाट विदेश जान चाहने र विदेशमा रहनुभएका दुवै वर्गका लागि उपयोगी भयो, होइन त?
हो, दुवैका लागि हो। सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो मुख्य उद्देश्य तपाईँहरूलाई पैसा कमाउने मात्र नभएर, कमाएको पैसा कसरी जोगाउने र त्यसलाई कसरी बढाउने भन्ने कुरामा सक्षम बनाउनु हो।

अन्त्यमा मैले सोध्न छुटाएका र तपाईँले भन्न चाहेका केही कुराहरू छन् भने राख्न सक्नुहुन्छ ?
अवश्य पनि, तपाईँले प्रायः सबै कुरा सोधिसक्नुभएको छ। तैपनि दर्शकहरूलाई म के भन्न चाहन्छु भने, तपाईँ पैसा कमाउनुहुन्छ र बचत पनि गर्नुहुन्छ, तर त्यसलाई सही तरिकाले बढाउन जान्नुभएन भने त्यो बचतको खासै मूल्य रहँदैन। बैंक खातामा मात्र राखिएको पैसाको भ्यालु हरेक वर्ष महँगीका कारण घट्दै जान्छ। त्यसैले पैसालाई कसरी सही ठाउँमा परिचालन गर्ने र मल्टिप्लाई गर्ने भन्ने बुझ्न चाहनुहुन्छ भने नेप्लिज सेवा सँग जोडिनुहोस्। हामी तपाईँको यो यात्रामा सहयात्री बन्न चाहन्छौँ। हामी अहिले नै त होइन, तर आजको ५–६ वर्षपछि नेप्लिज सेवाका कारण मैले यो प्रगति गर्न सकेँ’ भन्ने खालको एउटा बलियो क्रेडिबिलिटी ग्राहक माझ निर्माण गर्न चाहन्छौँ।