काठमाडौं – नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ । वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न भनेको हो ।
क्रेडिट कार्ड वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंक र वित्त कम्पनीले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो । सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समयसीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन । तर, निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्ने उल्लेख छ । त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसाल्न समेत केन्द्रीय बैंकले आग्रह गरेको छ । क्रेडिट कार्डबारे खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य सर्त र अवस्थाहरू बुझ्नुपर्ने उल्लेख छ ।
‘क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ’ राष्ट्र बैंकले सचेत गराउँदै भनेको छ । राष्ट्र बैंकले सचेत प्रयोगकर्ता बनेर क्रेडिट कार्ड सुरक्षित रूपमा चलाउन भनेको छ ।






About Us
प्रतिक्रिया