११ महिनामा २१ खर्बभन्दा बढी रेमिट्यान्स, जेठमै भित्रियो २ खर्ब


काठमाडौं – चालु आर्थिक वर्षको जेठसम्ममा २१ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ११ महिनामा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएर २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो । यस्तै, समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भएर १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २३ खर्ब २१ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो । राष्ट्र बैंककाअनुसार श्रम स्वीकृति लिनेहरुको संख्या भने घटेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५५ हजार ७३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५२ हजार ३२४ र ३ लाख ८ हजार ६७ रहेको थियो ।