काठमाडौं – कुमारी बैंक लिमिटेडले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका ६ सामुदायिक माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ। बैंकले गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरेको हो। यस सहयोगबाट ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्ने, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको बैंकले जनाएको छ।
भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयमा स्मार्ट टेलिभिजन उपलब्ध भएपछि शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी, प्रविधिमैत्री र आकर्षक बन्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमअन्तर्गत श्री मानाकोट माध्यमिक विद्यालय, श्री जनज्योति माध्यमिक विद्यालय, श्री अम्लिश माध्यमिक विद्यालय, श्री फूलपाता माध्यमिक विद्यालय, श्री किर्तिचौर माध्यमिक विद्यालय र श्री बालविकास माध्यमिक विद्यालय लाभान्वित भएका छन्।
कुमारी बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वासका साथ ग्रामीण र शहरी क्षेत्रबीचको शैक्षिक अवसर तथा स्रोत–साधनको असमानता न्यूनीकरण गर्न यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास बैंकको छ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल नाराअनुसार बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकका अनुसार शिक्षा क्षेत्रमा गरिएको यो सहयोगले दुर्गम क्षेत्रका विद्यार्थीलाई डिजिटल युगअनुकूल ज्ञान र सीप हासिल गर्न प्रेरित गर्नुका साथै स्थानीय तहमा शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ४१ एक्सटेन्सन काउन्टर, ३०४ एटीएम र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।






About Us
प्रतिक्रिया