काठमाडौं – नेपाल राष्ट्र बैंक र संसद्को अर्थ समितिबीच मौद्रिक नीतिको विषयलाई लिएर ‘टाइमिङ’मा तालमेल बिग्रिएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबार नै नयाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा अर्थ समितिले भने त्यसको भोलिपल्ट अर्थात् बुधबार मात्रै नीतिमा समेट्नुपर्ने सुझावबारे छलफल डाकेको छ।
संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको १३औं बैठक बुधबार बिहान ८:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्दैछ । सो बैठकको मुख्य कार्यसूचीमै आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले समेट्नु पर्ने सुझावहरूका सम्बन्धमा छलफल उल्लेख गरिएको छ। यसबाहेक समितिको स्थलगत अनुगमन, प्राप्त गुनासोहरू र विविध विषयमा पनि छलफल हुने कार्यसूची छ।
गभर्नर पौडेल सार्क क्षेत्रका केन्द्रीय बैंकका गभर्नरहरूको उच्चस्तरीय बैठकमा भाग लिन बुधबार भुटान प्रस्थान गर्ने कार्यतालिका भएकाले राष्ट्र बैंकले मंगलबारभित्रै नीति ल्याउन लागेको हो। यसरी केन्द्रीय बैंकले नीति सार्वजनिक गरिसकेपछि मात्रै संसदीय समितिमा सुझावमाथि छलफल गर्दा दुई निकायबीच तालमेल नभएको बुझिएको छ।






About Us
प्रतिक्रिया