महाप्रसादले साउनमा ल्याउने गरेको मौद्रिक नीति किन असारमै ल्याइरहेका छन् गभर्नर पौडेल ?


काठमाडौं –नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मंगलबार नै सार्वजनिक गर्ने तयारी गरेको छ। गत वर्ष पनि २७ असारमै मौद्रिक नीति ल्याएका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले यसपाली पनि असारमै ल्याउने जमर्को गरेका हुन्।

विगतमा सामान्यतया साउनको पहिलो वा दोस्रो साता सार्वजनिक हुने गरेको थियो। गभर्नर पौडेलको भुटानमा हुने सार्क बैठकका लागि भ्रमणमा जाने तालिका रहेकाले मंगलबार नै ल्याउन खोजिएको बुझिएको छ। गभर्नर डा.पौडेल सार्क क्षेत्रका केन्द्रीय बैंकका गभर्नरहरूको उच्चस्तरीय बैठकमा भाग लिन भोलि असार २४ गते भुटान प्रस्थान गर्दैछन्। गभर्नरको अनुपस्थितिमा कामु गभर्नरले मौद्रिक नीति जारी गर्नु व्यावहारिक र नीतिगत रूपमा उपयुक्त नहुने भएकाले उनी आफैँ उपस्थित भएर भ्रमण अगावै नीति सार्वजनिक गर्न लागिएको केन्द्रिय बैंकका अधिकारीहरूको भनाइ छ।

यसका साथै साउन १ गते अर्थात् नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै नीति कार्यान्वयन गर्ने लक्ष्य राष्ट्र बैंकको छ। विगतमा साउनको दोस्रो सातातिर नीति आउँदा बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ वर्षको व्यावसायिक रणनीति बनाउन ढिलाइ हुने गरेकोमा यस पटक साउनको सुरुवातदेखि नै बैंकिङ्ग प्रणाली र बजारले नयाँ मौद्रिक औजार र ब्याजदर करिडोरअनुसार काम गर्न बाटो खुल्नेछ।

अहिले बजारमा माग घटेको, बैंकहरूमा तरलता थुप्रिए पनि कर्जा प्रवाह हुन नसकेको र खराब कर्जा बढेको अवस्था छ। सरकारले बजेटमार्फत राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन बजारमा तुरुन्तै उत्साह भर्नुपर्ने दबाब राष्ट्र बैंकमाथि छ। नीति ल्याउन जति ढिला गर्‍यो, बजार उति नै ‘पर्ख र हेर’ को अवस्थामा बस्ने भएकाले गभर्नरले असारमै लचिलो नीति ल्याएर निजी क्षेत्रको मनोबल उकास्न चाहेको केन्द्रिय बैंकका अधिकारीहरू बताउँछन्। पूर्वगभर्नर महाप्रसाद अधिकारीको पालामा आर्थिक वर्ष २०८१/८२ को नीति साउन ११ गते, २०८०/८१ को नीति साउन ७ गते र २०७९/८० को नीति साउन ६ गते सार्वजनिक गरिएको थियो। हाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको मस्यौदा तयार गरी व्यवस्थापन समिति र सञ्चालक समितिको बैठक बोलाइसकेको छ। बोर्डबाट स्वीकृत हुनासाथ गभर्नर डा.पौडेलले भुटान उड्नुअघि मौद्रिक नीति सार्वजनिक गरिसक्ने योजना छ।