काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गते आफ्ना शेयरधनीलाई छैटौँ वार्षिक साधारण सभामा बोलाएको छ। संस्थाको असार ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा काभ्रेपलान्चोकको पनौती नगरपालिका–४ स्थित ताम्राकार पार्टी भेन्युमा बोलाएको छ। सो सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
कम्पनीले अन्य लघुवित्तसँग गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी कार्य अघि बढाउन समिति गठन गर्ने, मूल्यांकनकर्ताको नियुक्ति र पारिश्रमिक तोक्ने, मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका कार्य गर्न र नियमनकारी निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिन वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव सो सभाबाट पारित हुनेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १६ गते एक दिनका लागि शेयर शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। जसर्थ, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा असार १५ गतेसम्म कारोबार भई कायम शेयरधनीहरू मात्रै सो सभामा भाग लिन योग्य हुनेछन्।






About Us
प्रतिक्रिया