३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान


काठमाडौं – नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्त्वावधानमा सोही कार्यालयमा ३९ औँ समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो। 

उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे। सो अवसरमा उनले विपद् उद्धारकर्मीको रूपमा खटिँदा संवेदनशील, साहसी र अग्रसर भई आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै वैशाख ३ गतेदेखि सञ्चालित ४५ कार्य दिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवलदार ३ जना र प्रहरी जवान २३ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए।