वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने सात जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटकी शारदा कुमारी अधिकारी, कास्कीकी सुनिता सुवेदी तिवारी, इलामकी  सावित्रा देवी अर्याल, रूपन्देहीका ऋर्षि राम पाण्डे,अनिता पाण्डे, र अम्बिका घिमिरे र  महोत्तरीका योगेश कुमार यादव रहेका छन्।

पक्राउमध्ये शारदाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ, सुनिताले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ, सावित्राले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रुपैयाँ, ऋर्षि रामले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ, अनिताले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ, अम्बिकाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रुपैयाँ र योगेशले ग्रीस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३४ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।