राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन धितो रोक्का–फुकुवा सेवा सुरु


काठमाडौं – नेपाल सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय व्यवस्थापन कार्यान्वयन गर्ने उद्देश्यअनुसार नागरिकलाई छिटो, सहज तथा पूर्वानुमानयोग्य समयभित्र सेवा उपलब्ध गराउने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले धितो बन्धक रोक्का तथा फुकुवा सेवा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।

यस पहलमार्फत सेवा प्रक्रियालाई सेवा प्रदायक कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्थाबाट मुक्त गर्दै समयबद्ध तथा पूर्ण रूपमा विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने कार्य अघि बढाइएको छ। हालसम्म सो अनलाइन प्रणालीमार्फत ८ सयभन्दा बढी धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी कार्य सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

यसअघि अनलाइन प्रणालीमार्फत धितो रोक्का तथा फुकुवा सेवा सञ्चालनका सम्बन्धमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच समझदारीपत्र समेत सम्पन्न भइसकेको थियो। अनलाइन प्रणालीमार्फत धितोको जग्गा रोक्का तथा फुकुवा गर्दा प्रक्रिया अझ छिटो, छरितो, पारदर्शी र सहज हुने अपेक्षा गरिएको छ।

यसले समय तथा खर्च दुवैको बचत गर्नुका साथै सेवाग्राहीको सन्तुष्टिमा समेत उल्लेखनीय वृद्धि गर्ने विश्वास गरिएको छ। वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका सातै प्रदेशका ७७ जिल्लाका सदरमुकाम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गरेको छ।

बैंकले ३१५ शाखा कार्यालयमार्फत कर्जा तथा निक्षेप सेवा प्रदान गर्दै आएको छ। साथै, एटिएम, मोबाइल बैंकिङ्ग लगायतका आधुनिक डिजिटल बैंकिङ्ग सेवाहरू समेत उपलब्ध गराउँदै आएको छ।