महिला लघुवित्तको संस्थापक शेयर लिलामीमा


काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २३ गतेदेखि ८० हजार कित्ता बढी संस्थापक शेयर लिलामीमा राखेको छ। संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको कुल ८४ हजार ५३७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको हो।

संस्थाले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता शेयर लिलामीमा राखेको हो। संस्थाले उक्त शेयर संस्थापक तथा सर्वसाधारण जो कोहीले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

सो शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ५१५ रुपैयाँ तोकिएको छ। सो शेयरमा आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० को गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन सक्नेछन्।

उक्त शेयरमा असार ७ गतेसम्ममा आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ। आवेदन दिन इच्छुक लगानीकर्ताले काठमाडौंको कमलादीस्थित एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धकमा आवेदन पेश गर्नुपर्नेछ।