चौथो बैंकिङ्ग डिस्कोर्श : वक्ताका रूपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा सहभागी हुने


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजनको संयुक्त आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ‘विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीति’ को वक्ताका रूपमा उनी सहभागी हुने भएका हुन्।

उनले केन्द्रीय बैंकको महत्त्वपूर्ण जिम्मेवारीहरु सम्हाल्दै आइरहेका छन्। पछिल्लो समय उनी केन्द्रीय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको प्रमुखका रूपमा कार्यरत छन्। २०७७ सालमा उनी कार्यकारी निर्देशकमा बढुवा भएका थिए। त्यसपछि उनले मानव संसाधन व्यवस्थापन विभाग, बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभागमा काम गरिसकेका छन्।

उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।

बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङबेस एआई रहेको छ।