चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श: एक्सेल डेभलपमेन्ट बैंकका सीईओ डा. कट्टेल सहभागी हुने


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्तामा रूपमा एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. इन्द्र कुमार कट्टेल सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजनको संयुक्त आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ‘विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीति’ को वक्ताका रूपमा उनी सहभागी हुने भएका हुन्।

कट्टेल सन् २०२२ देखि एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा कार्यरत छन्। ओखलढुंगाको चम्पादेवीमा जन्मिएका डा. कट्टेलले क्रेडिट जोखिम व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन्। उनले यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै विभिन्न पुस्तकहरू प्रकाशन गर्नुका साथै १० भन्दा बढी अनुसन्धानात्मक लेखहरू पनि प्रकाशित गरेका छन्।

दशकौँ लामो बैंकिङ्ग तथा वित्तीय अनुभव बोकेका डा कट्टेलले आफ्नो करियरमा विभिन्न महत्वपूर्ण पदहरू सम्हालेका छन् । उनले नागरिक लगानी कोषमा उपकार्यकारी निर्देशक तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यको रूपमा समेत काम गरिसकेका छन्। एक्सेल डेभलपमेन्ट बैंकमा नियुक्त हुनुअघि डा। कट्टेलले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा आवद्ध थिए।

उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।

बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।