चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शः वक्ताका रुपमा फोनपेका सीईओ दिवस कुमार सापकोटा सहभागी हुने


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रुपमा फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमार सापकोटा सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजकाे संयुक्त आयोजनामा आगामी जेठ २७ गते हुने छलफलको चौथो सत्र बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक सत्रकाे वक्ताका रुपमा सापकोटा सहभागी हुने भएका हुन्।

सापकोटा यसअघि फोन पेमै असिस्टेन्ट सीईओको रूपमा कार्यरत थिए। फोन पेमा प्रमुख प्राविधिक अधिकृतको रूपमा काम सुरु गरेका सापकोटा त्यसअघि नेपाल क्लियरिङ हाउसमा आबद्ध रहेका थिए। एभरेष्ट बैंकबाट आफ्नो करिअर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आईटी क्षेत्रमा १५ वर्षभन्दा लामो समय काम गरेको अनुभव छ।

सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका उनीसँग बैंकिङ्ग प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार र फिनटेक क्षेत्रमा दुई दशक बढीको अनुभव छ। उनले फोनपेको प्रारम्भिक टोलीको एक सदस्यका रूपमा प्रमुख प्रविधि अधिकृतको भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । २०२१ मा सीईओको जिम्मेवारी सम्हालेपछि सापकोटाले नेतृत्वमा फोनपे आफ्नो सबैभन्दा महत्त्वपूर्ण वृद्धि चरणबाट गुज्रिएको विज्ञप्तिमा उल्लेख छ ।

डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।