काठमाडौं – सिजी होल्डिङ्सअन्तर्गत सञ्चालन भइरहेका होटल तथा रिसोर्टहरू अब सिजी होटल्स एण्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले सिजी होल्डिङ्स अन्तर्गतका सबै होटल र रिसोर्ट अब सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र रहेर सञ्चालन हुने जानकारी दिए।
चौधरीका अनुसार सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित पाँच तारे क्राउन प्लाजा, द प्लाजा, चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी, नगरकोटमा रहेको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिटलाई समावेश गरिएको छ। साथै आगामी दिनमा सञ्चालन हुने होटल तथा रिसोर्टलाई पनि यही छाताभित्र रहने उनले बताए।
कम्पनीका अनुसार पुलचोकस्थित क्राउन प्लाजा विसं २०८३ भित्रै सञ्चालनमा आउनेछ। होटलको व्यवस्थापन ग्लोबल कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी)ले गर्नेछ। सोल्टी होटलको व्यवस्थापन छाडेको करिब ६ वर्षपछि आईएचजी सिजी होल्डिङमार्फत नेपाल आउन लागेको हो।
विसं २०७६ वैशाखमा शिलायन्यास गरिएको यो होटल यस वर्षदेखि सञ्चालनमा आउन लागेको हो ।सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गतको अर्को रिसोर्ट हो, नगरकोटको भंगेरी दरबार रिसोर्ट। आठ वर्षअघि निर्माण सुरु भइ गत वैशाखदेखि सञ्चालनमा आएको छ । चन्द्र शमशेरले नगरकोटमा निर्माण गरेको भंगेरी दरबारको नामबाट रिसोर्ट निर्माण गरिएको हो।
कम्पनीले सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारीलाई पनि समेटेको छ। अन्तर्राष्ट्रिय चेन हस्पिटालिटी लेमन ट्रिको व्यवस्थापनमा सञ्चालन भइरहेको यो वाइल्ड लाइफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सीमामा अवस्थित छ।
कम्पनीका अनुसार ललितपुरको पुलचोकमा सञ्चालनमा रहेको नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु द प्लाजा पनि सिजी होटेल्स एण्ड रिसोर्टको छाताभित्र सञ्चालनमा ल्याइएको छ। यसैगरी काठमाडौंको बुढानिलकण्ठस्थित मेराकी वेलनेस रिट्रिट सञ्चालनमा छ। काठमाडौं उपत्यकाको नजिक वेलनेसलाई प्राथमिकता दिएर सञ्चालनमा आएको यो रिसोर्टले पनि जंगलभित्रै आवासको अनुभूति दिन्छ।






About Us
प्रतिक्रिया