स्वाभिमान लघुवित्तको घोषित लाभांश रद्द, शेयरधनीको हात खाली


काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव संशोधन गरेको छ। कम्पनीको गत फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेकोमा अब शेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो।

वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामक व्यवस्था र वित्तीय परिसूचकहरुमा गर्नुपर्ने अनिवार्य समायोजनका कारण साविकमा प्रस्ताव गरिएको लाभांशलाई यथावत राख्न नसकिने कानुनी एवं प्राविधिक बाध्यता सिर्जना भएको कम्पनीले जनाएको छ।

प्रचलित नीति नियम तथा सरोकारवालाहरूको दीर्घकालीन हितलाई ध्यानमा राख्दै साविकको लाभांश प्रस्तावलाई परिमार्जन गरी आर्थिक वर्ष २०८१/०८२ का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएको समेत कम्पनीले जनाएको छ।