काठमाडौं- नेपालको अग्रणी डिजिटल ईएमआई सुविधा प्लेटफर्म वान बीएनपीएल सञ्चालन गर्दै आएको फिन्तारा सोलुसन्सले धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलसँग सेवा सहकार्य सम्झौता गरेको छ। सम्झौताअनुसार वान बीएनपीएलका साझेदार बैंकका ऋणपत्रवाहकहरूले अस्पतालको बिल शून्य ब्याजदरमा मासिक किस्ताबन्दीमार्फत भुक्तानी गर्न सक्नेछन्।
फिन्तारा सोलुसन्सका अनुसार यो सहकार्य बिरामीको आर्थिक सशक्तीकरणका लागि ऐतिहासिक स्वास्थ्य–वित्तीय प्रविधि साझेदारीका रूपमा रहेको छ। अब ग्रान्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउन आउने बिरामीहरूले वान बीएनपीएलका कुनै पनि साझेदार बैंकको ऋणपत्र प्रयोग गरी पाँच हजार रुपैयाँ वा सोभन्दा माथिको अस्पताल बिललाई ३ देखि १८ महिनासम्मको शून्य ब्याजदर किस्तामा रूपान्तरण गर्न सक्नेछन्।
कम्पनीले सम्पूर्ण प्रक्रिया डिजिटल, तत्काल र कागजरहित रहेको जनाएको छ। फिन्तारा सोलुसन्सका अनुसार वान बीएनपीएल नेपालकै पहिलो तथा सबैभन्दा व्यापक डिजिटल ईएमआई सुविधा प्लेटफर्म हो। हाल यसमा १० साझेदार बैंक तथा १०० भन्दा बढी साझेदार व्यवसायिक संस्था आबद्ध छन्।
यसमार्फत स्वास्थ्य सेवा, रिसोर्ट तथा आतिथ्य, खुद्रा पसल, मोबाइल ब्रान्ड र प्रविधि उपकरणलगायत विभिन्न क्षेत्रमा ३ देखि १८ महिनासम्मको किस्ता सुविधा उपलब्ध गराइँदै आएको छ। वान बीएनपीएलका साझेदार बैंकहरूमा ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, कुमारी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, लक्ष्मी बैंक, प्रभु बैंक, एनएमबी बैंक, महालक्ष्मी बैंक तथा माछापुच्छ्रे बैंक रहेका छन्।






About Us
प्रतिक्रिया