एनआईसी एशिया लघुवित्तले बोलायो आठौँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – एनआईसी एशिया लघुवित्तले आफ्ना शेयरधनीलाई आठौँ वार्षिक साधारण सभामा बोलाएको छ। संस्थाको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा यही जेठ ३० गते बस्ने गर्ने निर्णय गरेको हो। सो सभा धरान–१२ स्थित गोर्खा होटेलमा बिहान ११ बजे सुरु हुनेछ। 

सभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस गर्नेछ। त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने त्यस्तै संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक चयन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यससँगै, विशेष प्रस्ताव अन्तर्गत ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति (मर्जर) प्रक्रियालाई अघि बढाउन उपयुक्त संस्था पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने तथा नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिन आवश्यक प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई दिने प्रस्ताव समेत सो सभामा पेस हुनेछ।

संस्थाले सो सभा प्रयोजनका लागि जेठ १९ गते बुक क्लोज गर्ने भएको छ। जसको अर्थ जेठ २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयर धनीहरू मात्रै सो सभामा सहभागी भई मतदान गर्न योग्य हुने संस्थाले जनाएको छ।