ब्याजदर करिडोरलाई प्रभावकारी बनाउँदै राष्ट्र बैंक, स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने भएको छ। केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गर्ने भएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो बताएको हो ।तेस्रो त्रैमासको समीक्षामा केन्द्रीय बैंकले एकमात्रै व्यवस्थामा हेरफेर गरेको छ।

मौद्रिक नीति समीक्षामा भनिएको छ, `ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिनेछ ।´

यस्तै, राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति यस बैंकको लक्ष्यअनुरूप नै रहने प्रक्षेपणको आधारमा न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गरी चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।

साथै, केन्द्रीय बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत् कायम गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र सोको समीक्षाहरूमा गरिएका व्यवस्थाहरूबाट मूल्य, बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ ।