मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धरले सम्हाले कार्यभार


काठमाडौं – मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले कार्यभार सम्हालेका छन्। बैंकका सीईओ मानन्धरले आज जेठ १ गतेदेखि कार्यभार सम्हालेका हुन्।

बैंकका तत्कालीन सीईओ प्रद्युम्न पोखरेलको कार्यकाल वैशाख मसान्तबाट सकिने भएसँगै बैंक सञ्चालकले सीईओमा उनलाई नियुक्त गरेको थियो। बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी जेठ १ गतेबाट लागू हुने गरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो।

मानन्धरले विभिन्न वाणिज्य बैंकको व्यवस्थापकीय भूमिकामा रहेर काम गरिसकेका छन्। पछिल्लो समय उनी डिस मिडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। नवनियुक्त सीईओ मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरूको उच्च मनोबल तथा सरोकारवालाको विश्वासलाई सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।