बैंकर्स संघसहित चार संस्थाको अपिल:

‘एनआईएमबीका सीईओ पाण्डेलाई थुनाबाहिर राखेर अनुसन्धान गरियोस्’


काठमाडौं – नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन्।

चार संस्थाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पाण्डेलाई नियन्त्रणमा लिएको सन्दर्भ उठाउँदै बैंकिङ्ग क्षेत्रको संस्थागत स्थायित्व र साखमाथि असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

विज्ञप्तिमा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरू नेपाल राष्ट्र बैंकबाट जारी नीति निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३को अधीनमा सञ्चालन भइरहेको उल्लेख गरिएको छ । ती संस्थाहरूले सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा योगदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त वक्तव्यमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ५७ ले कर्जा असुल नभएको अवस्थामा बैंक तथा वित्तीय संस्थालाई असुलीका लागि विशेष अधिकार दिएको स्मरण गराइएको छ । उक्त प्रावधान बैंकको नियमित प्रक्रिया भित्र पर्ने र त्यसको कार्यान्वयन प्रमुख कार्यकारी अधिकृतको मूल दायित्वभित्र पर्ने चारै संस्थाको भनाइ छ ।

विज्ञप्तिमा सर्वसाधारणको निक्षेपमा आधारित बैंक जस्ता संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई कर्जा असुलीको विषयमा पक्राउ गर्दा त्यसले बैंकको साखमा गिरावट ल्याउन सक्ने र संस्थागत स्थायित्वमै असर पर्न सक्ने उल्लेख गरिएको छ ।

चार संस्थाले बैंकको प्रतिष्ठा र प्रमुख कार्यकारी अधिकृत पदको गरिमालाई समेत विचार गर्न आग्रह गर्दै आवश्यक अनुसन्धान गर्नुपर्ने भए पनि ‘सुन अनि थुन’को सिद्धान्तअनुसार प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्। त्यसका लागि ज्योतिप्रकाश पाण्डेलाई यथाशीघ्र थुनाबाहिर राखी अनुसन्धान प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग अपिल गरिएको छ।