जीवन बीमा कम्पनीहरुको नाफा घट्यो, सबैभन्दा बढी कमाउनेमा रिलायबल नेपाल लाइफ


काठमाडौं – जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्ममा जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट देखिएको हो । अधिकांश कम्पनीहरूको नाफा बढ्दा पनिठूलो हिस्सा ओगट्ने कम्पनीको आम्दानी घट्दा समग्र क्षेत्रको नाफा घट्न पुगेको हो ।

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले चैतसम्ममा ४ अर्ब ५९ करोड २० लाख कायम भएको छ । गत वर्ष चैतसम्ममा यस्तो नाफा ४ अर्ब ८६ करोड १७ लाख रहेको थियो।

चैतसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सबैभन्दा बढी ४७ करोड ४ लाख खुद नाफा आर्जन गरेको छ । दोस्रो धेरै नाफा गर्नेको सूचीमा नेपाल लाइफ रहेको छ । कम्पनीले ४५ करोड ४८ लाख नाफा आर्जन गरेको हो । यस्तै, चैतसम्ममा नेशनल लाइफ इन्स्योरेन्सले ४१ करोड ६६ लाख, आईएमई लाइफले ३६ करोड ७९ लाख, सिटिजन लाइफले ३६ करोड, एशियन लाइफले ३४ करोड ७३ लाख, सानिमा रिलायन्स लाइफले ३४ करोड ८ लाख तथा सन नेपाल लाइफले ३४ करोड नाफा आर्जन गरेको छ ।

यस्तै, चैतसम्ममा सूर्यज्योति लाइफले ३३ करोड ३ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले ३२ करोड ४ लाख नाफा आर्जन गरेको छ। साथै, समिक्षा अवधिमा मेट लाइफले ३० करोड २५ लाख, प्रभु महालक्ष्मी लाइफले २७ करोड ५० लाख र हिमालयन लाइफले २६ करोड १४ लाख नाफा कमाएको छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चैत मसान्तसम्म ४० लाख नाफा कमाएको छ ।