सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुन ७ सय घट्दा चाँदी १५ रूपैयाँले बढ्याे


काठमाडौं – मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ। सुन तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको मोल भने १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७१० रुपैयाकायम भएको छ।

हिजो मङ्गलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६९५ रूपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।