सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा सामान्य सुधार


काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ३६ करोड नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ३६ करोड नाफा आर्जन गरेको देखाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

गत वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बढेको छ । गत वर्षको चैतसम्म ५ अर्ब ८ करोड २५ लाख कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्षको चैतसम्म ६ अर्ब २१ करोड ९८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। साथै कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेको छ । कम्पनीले चालु वर्षको चैतसम्म ५ अर्ब ९४ करोड ३० लाख खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको चैतसम्म कम्पनीले ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेको छ । चैतसम्म कम्पनीको जीवन बीमा कोषमा २४ अर्ब ५५ करोड ८२ लाख रहेको छ। गत वर्षको सोही अवधिसम्म जीवन बीमा कोषमा १८ अर्ब २ करोड १९ लाख थियो।

चैतसम्म कम्पनीको शेयर प्रिमियममा ४४ करोड ९६ लाख, महाविपत्ति कोषमा २६ करोड ६३ लाख, रिटेन्ड अर्निङमा ४७ करोड ९ लाख र अन्य इक्विटीमा ३७ करोड १२ लाख रहेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ । यस्तै, चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ९.६० रुपैयाँ कायम भएको छ।