एक्सेल डेभलपमेन्ट बैंकको नाफामा उलेख्य सुधार, तेस्रो त्रैमासमा कमायो १५.५७ करोड


काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको यो त्रैमाससम्ममा उल्लेखनीय वित्तीय सुधार गर्दै १५.५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंक ६३.८३ लाख घाटामा रहेको अवस्थामा यो परिणामले बैंकको वित्तीय अवस्थामा थप सकारात्मक प्रगति देखिएको छ।

अघिल्लो त्रैमासकको तुलनामा वितरणयोग्य नाफा १४.५३ करोड रुपैयाँले वृद्धि भई कुल जम्मा १५.०७ करोड रुपैयाँ कमाएको हो। जसबाट बैंकको लाभांश बाँड्ने क्षमता वृद्धि भएको छ। बैंकको प्रतिशेयर आम्दानी १६.६१ रुपैयाँ पुगेको छ, जसले लगानीकर्ताहरूका लागि आकर्षक प्रतिफलको संकेत दिएको छ। त्यसैगरी, प्रतिशेयर नाफामा पनि सकारात्मक वृद्धि भई १५.३९ रुपैयाँ कायम हुनु शेयरधनीहरूका लागि थप सकारात्मक समाचार हो।

त्यसैगरी, बैंकको पूँजी पर्याप्तता अनुपात १४ प्रतिशत कायम रहनुले वित्तीय जोखिम वहन गर्ने क्षमता बलियो रहेको देखाउँछ। यसबाट नियामकीय मापदण्डभित्र रहेर बैंकले सुरक्षित र सन्तुलित रूपमा कर्जा विस्तार गरिरहेको स्पष्ट देखिन्छ। बैंकको आधार ब्याजदर ५.६७ प्रतिशत मा कायम रहेका लागि थप राम्रो संकेत हो। यसले कर्जा ब्याजदरलाई प्रतिस्पर्धी बनाउँदै लगानी र व्यवसाय विस्तारमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

बैंकले पछिल्लो समय आक्रामक कर्जा विस्तार नीति अपनाउँदै बजारमा सक्रिय उपस्थिति जनाइरहेको छ। यस रणनीतिले आर्थिक गतिविधि बढाउन र ग्राहकहरूलाई सहज वित्तीय पहुँच उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। समग्रमा, बैंकको यो प्रदर्शनले संस्थागत स्थायित्व, व्यवस्थापनको दक्षता र भविष्यप्रति सकारात्मक संकेत प्रस्तुत गरेको छ।

आगामी दिनमा पनि यस्तै सुधारको निरन्तरता रहने अपेक्षा गरिएको छ। कोशी प्रदेश कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।