खुम्चियो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले बैंकको नाफामा गिरावट आएको देखाएको हो । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा बैंकको ३ अर्ब १४ करोड ६७ लाखमा खुम्चिएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब ५४ करोड नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी घट्दा नाफा प्रभावित बनेको हो । बैंकको खुद ब्याज आम्दानी घटेर ९ अर्ब ५७ करोड ९५ लाखमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १० अर्ब ३१ करोड ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा समेत घटेको छ । बैंकको गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ६ अर्ब ६१ करोड १४ लाख रहेको बैंकको सञ्चालन नाफा घटेर ४ अर्ब ७७ करोड ९६ लाख कायम भएको छ ।

हाल बैंकको वितरणयोग्य नाफा ३ अर्ब १० करोड ३० लाख रहको छ । हाल बैंकको चुक्तापूँजी ३४ अर्ब १२ करोड रहेको छ भने जगेडा कोषमा ३७ अर्ब १३ करोड सञ्चित छ । बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको चैतमा ६.०६ प्रतिशत रहेको खराब कर्जा बढेर ८.४१ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १२.२९ पुगेको छ ।