ब्याज आम्दानी घट्दापनि लक्ष्मी सनराइज बैंकको नाफामा वृद्धि


काठमाडौं – लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा २ अर्ब ३ करोड खुद नाफा आर्जन गरेको छ । बैंकले वित्तीय विवरण सार्वजनि गर्दै नाफा कमाएको बताएको हो । गत वर्षको तुलनामा बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६५ करोड नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्षको चैत मसान्तसम्ममा बैंकले ७ अर्ब ८९ करोड ब्याज आम्दानी गरेको थियो । तर, यस वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८७ करोड खुद ब्याज आम्दानी गरेको छ । चैतसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ७३ करोड, कुल सञ्चालन आम्दानी १० अर्ब ८५ करोड र सञ्चालन नाफा २ अर्ब ९५ करोड रहेको छ ।

चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ५१ करोड ६१ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्तापुँजी २६ अर्ब ७८ करोड रहेको छ भने जगेडा कोषमा १९ अर्ब ५८ करोड सञ्चित छ । हाल बैंकको खराब कर्जा घटेर ५.२९ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी १०.१५ रुपैयाँ रहेको छ ।