खुद ब्याज आम्दानी बढेसँगै बढ्यो नबिल बैंकको नाफा


काठमाडौं – नबिल बैंकले चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैतसम्म ६ अर्ब बढी नाफा कमाएको छ। बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ६ अर्ब ७६ करोड ४६ लाख नाफा आर्जन गरेको उल्लेख गरेको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा बढी हो। जबकी बैंकले गत आर्थिक वर्षको चैतसम्म बैंकले ५ अर्ब ५ करोड १४ लाख नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी बढ्दा पनि नाफामा सुधार आएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले १२ अर्ब ४५ करोड ९४ लाख ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

हाल बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ रहेको छ। यस्तै, बैंकले चैतसम्म सञ्चालन मुनाफा ९ अर्ब ६१ करोड ६ लाख आर्जन गरेको छ। हाल बैंकको चुक्तापुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ३४ अर्ब ४० करोड २ लाख रुपैयाँ रहेको । अहिले बैंकको खराब कर्जा अनुपात घटको छ। बैंकको खराब कर्जा ०.९८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको एनपीएल १.५९ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर ३३.०२ रुपैयाँ कायम भएको छ।