नेपाल बैंकको नाफामा सामान्य सुधार, कस्ता छन् वित्तीय सूचक ?


काठमाडौं – नेपाल बैंकको नाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको हो ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ७९ करोड २९ लाख खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ७८ करोड ३९ लाख खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ७ अर्ब १० करोड ७ लाख ५२ हजार खुद ब्याज आम्दानी गरेकोमा चालु वर्षको चैतसम्ममा ७ अर्ब ३१ करोड ३२ लाख ५ हजार आर्जन गरेको छ ।

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ६८ करोड ४३ लाख ६२ हजार, कुल सञ्चालन आम्दानी ८ अर्ब ७७ करोड ९० लाख ३२ हजार र सञ्चालन नाफा ४ अर्ब ८५ करोड २८ लाख ६१ हजार कायम भएको छ । चैतसम्ममा बैंकको वितरणयोग्य नाफा पनि बढेको छ । गत वर्षको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ३० करोड ६२ लाख १८ हजार थियो भने गत चैतसम्ममा ३२ करोड १३ लाख ३४ हजार रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रहेको छ भने बैंकको जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख २७ हजार सञ्चित छ । बैंकको नाफामा सुधार आउँदा प्रतिशेयर आम्दानी २५.३४ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जामा पनि सुधार आएको छ । हाल बैंकको खराब कर्जा ४.९६ प्रतिशत छ ।