ब्याज आम्दानी बढेपनि घट्यो एभरेष्ट बैंकको नाफा, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब बढी नाफा कमाएको छ । बैंकले चैतसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ३ अर्ब ३२ करोड ९३ लाख नाफा आर्जन गरेको देखाएको हो । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा सुधार आउँदा पनि नाफा भने घटेको हो । गत आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ७४ करोड ३९ लाख ५८ हजार खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्षको चतै मसान्तसम्ममा ६ अर्ब ८३ करोड ३४ लाख ७० हजार खुद ब्याज आम्दानी गरेको छ ।

यस्तै, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ४५ करोड २६ लाख ३९ हजार, कुल सञ्चालन आम्दानी ८ अर्ब ९३ करोड १० लाख ३५ हजार र सञ्चालन नाफा ४ अर्ब ९० करोड ३६ लाख ८६ हजार कायम भएको छ । हाल बैंकको वितरणयोग्य नाफा पनि बढेको छ । गत आर्थिक वर्षको चैतसम्ममा ३ अर्ब ६७ करोड ८७ लाख ८२ हजार वितरणयोग्य नाफा रहेको बैंकको चैतसम्ममा ४ अर्ब ४ करोड ८५ लाख ५९ हजार रहेको छ ।

हाल चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार बैंकको जगेडा कोषमा १५ अर्ब ५० करोड ८८ लाख ९ हजार सञ्चित रहेको छ । अहिले बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्षको चैतमा ०.६४ प्रतिशत रहेको खराब कर्जा घटेर ०.६१ प्रतिशतमा झरेको छ ।