वास्तविक सुकुम्वासीको व्यवस्थापन हुन्छः प्रधानमन्त्री


काठमाडौं( प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका वास्तविक सुकुम्वासीहरूको यथार्थ पहिचान गरेर उनीहरूलाई यथाशक्य जग्गा वितरण गरी स्थायी व्यवस्थापन गरिने बताएका छन्। केहीबेरअघि आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री शाहले वर्षौँदेखिको सुकुम्वासी समस्याको स्थायी समाधान खोजेर उनीहरूको बसोबासको व्यवस्थापनका लागि सरकारले काम गरिरहेको पनि स्पष्ट गरेका छन्।

प्रधानमन्त्री शाहले नदीकिनारमा बसोबास गरिरहेकाहरूको सुरक्षा र उपत्यकाको ढल निकास प्रणाली सुधारका गर्न पनि उनीहरूलाई स्थायी रूपमा अन्यत्रै स्थानान्तरण आवश्यक रहेको पनि बताएका छन्। उनले भने,’हरेक वर्षको बाढीका कारण काठमाडौंका नदीकिनारमा रहेका मानिसहरूले ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने नियति छ। उनीहरूलाई जोखिमरहित सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नागरिकको अधिकार हो।’

प्रधानमन्त्री शाहले काठमाडौंको थापाथलीलगायतका बस्तीलाई मानवीयताको ख्याल गरेर बल प्रयोग नगरी सुरक्षित तवरबाट स्थानान्तरण र त्यसपछि व्यवस्थापन गर्न लागिएको पनि जानकारी दिएका छन्। प्रधानमन्त्री शाहले आफ्नो चुनावी वाचा र सरकारको १०० दिने कार्ययोजनामा पनि सुकुम्वासी समस्या समाधान गर्ने विषय समेटिएको स्मरण गर्दै झापामा उम्मेदवार हुँदा गरेको वाचा, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिबद्धता र सरकारको १०० वटा गर्नैपर्ने काममा पनि सुकुम्वासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण रोक्ने विषय रहेको आफूले नबिर्सिएको बताए।